हेटौंडाः भीमफेदी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ६८ करोड ५५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्ष २०८०-०८१ का गाउँपालिकाले आइतबार ६८ करोड ५४ लाख ९९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो ।
गाउँपालिकाका उपाध्यक्ष सञ्जीव श्रेष्ठले गाउँसभा बैठकमा आगामी आर्थिक वर्षका लागि चालुतर्फ ३३ करोड २० लाख र पुँजीगततर्फ ३५ करोड २४ लाख ९९ हजार रुपैयाँ बजेट प्रस्तुत गर्नुभयो ।
गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि सबैभन्दा बढी बजेट पूर्वाधार विकासमा छुट्याएको छ । पालिकाले पूर्वाधार विकासका लागि २४ करोड ८८ लाख रुपैयाँ विनियोजन गरेको सार्वजनिक बजेट वक्तव्यमा जनाइएको छ । यस्तै, गाउँपालिकाले सामाजिक क्षेत्रमा पनि २४ करोड ३९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
गाउँपालिकाको आर्थिक विकासमा ६ करोड ८२ लाख, सुशासन तथा अन्तरसम्बन्धमा १ करोड ८० लाख तथा वन, वातावरण एवम् विपद् व्यवस्थापनका लागि १ करोड ८५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि ९ करोड रुपैयाँ बजेट विनियोजन गरेको उपाध्यक्ष श्रेष्ठले बताउनुभयो ।
पालिकाले आगामी आर्थिक वर्षको बजेटको खर्च व्यहोर्ने स्रोतमा संघीय सरकारबाट प्राप्त अनुदान ३४ करोड ३२ लाख तथा प्रदेश सरकारबाट प्राप्त ६ करोड ६७ लाख रुपैयाँ अनुमान गरेको छ । यस्तै, राजस्व बाँडफाँडबाट १२ करोड ७७ लाख रुपैयाँ प्राप्त हुने अनुमान गाउँपालिकाको छ । आन्तरिक राजस्व ६ करोड ४४ लाख रुपैयाँ र अन्य आय ७ करोड रुपैयाँ हुने पालिकाले अनुमान गरेको छ ।
गाउँपालिकाले आगामी आर्थिक वर्षमा खडेरीबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिनेगरी रैथानेबाली उत्पादन गर्न नगद अनुदान दिने भएको छ । यसैगरी महिला तथा युवालाई उद्यमशीलता अनुदान दिनेगरी बजेटमा व्यवस्था गरेको जनाएको छ ।