प्रदेश युवा सम्मेलनको तयारी पूरा भएको जानकारी गराउनुहुँदै परिषदका कार्यकारी उपाध्यक्ष सान्तोष चौलगाई ।

हेटौँडाः बागमती प्रदेश युवा परिषद्को आयोजनामा सोमबार र मंगलबार दुईदिन हुने प्रथम प्रदेश युवा सम्मेलनको तयारी पूरा भएको छ । आइतबार सम्मेलनस्थल एभोकाडो होटेलमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले तयारी पूरा भएको जानकारी दिनुभएको छ ।

सम्मेलनमा प्रदेशका १३ जिल्लाबाट समावेशी अवधारणाअनुसार १ सय ५० युवाको सहभागिता रहने कार्यकारी उपाध्यक्ष चौलागाईले जानकारी दिनुभयो । प्रदेशका १३ जिल्लाका जिल्ला युवा समितिमार्फत सिफारिस भई आएका ७५ जना, अनलाइनमार्फत आवेदन दिएका मध्ये ६० र १५ जना सरोकारवाला संघ, संस्था र सरोकारवाला निकायको सिफारिसमा छनोट भएका छन् । सम्मेलनमा सहभागी हुने युवा छनोटका क्रममा ७२ जना पुरुष, ४१ जना महिला र ३ जना लैंगिक तथा यौनिक अल्पसंख्यक छनोट भएको उहाँले बताउनुभयो ।

“हामीले सहभागीको छनोटका क्रममा महिला, जनजाति, अल्पसंख्यक, सिमान्तकृत समूह, विद्यार्थी युवाको सहभागितालाई प्राथमिकतामा राखेर छनोट गरेका छौं”, कार्यकारी उपाध्यक्ष चौलागाईले भन्नुभयो, “युवा पुस्तालाई मुलुक र समाजप्रति जिम्मेवार बनाउन, नवप्रवर्तन, उद्यमशीलता र उच्च व्यक्तित्व विकास गर्न प्रेरित गर्ने उद्देश्यले युवा सम्मेलनको आयोजना गरिएको हो । प्रथम पटक आयोजना हुन लागेको सम्मेलनमा युवा पुस्तालाई अभिमुखीकरण गर्न, अभिप्रेरित गर्न, सकारात्मक कार्यप्रति आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।”

सम्मेलनमा युवालाई अभिमुखीकरण र अभिप्रेरित गर्ने गरी ख्यातीप्राप्त व्यक्तित्व, सम्बन्धित क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तित्वलाई श्रोतव्यक्तिकोरुपमा सहभागी गराएइएको उहाँले बताउनुभएको छ । सम्मेलनमा सहभागी युवाले आफ्ना अनुभव, अपेक्षा र योजना प्रस्तुत गरेर श्रोतव्यक्तिसँग अन्तरक्रिया गर्नेछन् । दुईदिन हुने सम्मेलनमा ५ वटा महत्वपूर्ण सत्रको आयोजना गरिनेछ ।

सम्मेलनको उद्घाटन सामाजिक विकास मन्त्री कुमारी मुक्तानले गर्नुहुनेछ भने समापन मुख्यमन्त्री शालिकराम जम्कट्टेलले समापन गर्नुहुनेछ । सम्मेलन आयोजनाका लागि १० लाख रुपैयाँ बजेट रहेको जानकारी दिनुहुँदै कार्यकारी उपाध्यक्ष चौलागाईले भन्नुभयो, “सम्मेलन आयोजनामा १५ लाख रुपैयाँ भन्दा बढी खर्च हुने देखिएको छ । त्यसका लागि मन्त्रालयले आवश्यक सहयोग हुने अपेक्षा गरेका छौं । हामीलाई हेटौँडा उपमहानगरपालिका र स्थानीय संघ, संस्थाले पनि साथ र सहयोग गरेका छन् ।”