हेटौँडा उपमहानगरपालिकाले शिक्षक भलिबल प्रतियोगितामा सहभागिताका लागि जारी गरेको सूचना ।

हेटौँडाः नयाँ शैक्षिक सत्र २०८० सुरु भएको दुइ महिना भयो । हेटौँडा उपमहानगरले अघिल्लो शैक्षिक सत्रको समीक्षा र चालु शैक्षिक सत्रको योजना बनाएको छैन । जेठ तेस्रो सातादेखि उच्च गर्मीका कारण विद्यालयमा पठनपाठन प्रभावित बनेको छ । गत सातादेखि पठनपाठन सुचारु हुने अवस्था रह्यो ।

विद्यालयको नियमित पठनपाठन व्यवस्थित गर्ने विषयमा उपमहानगरको आवश्यक रणनीति बनाउन सकेको छैन । यस्तो अवस्थामा हेटौँडा उपमहानगरले सोमबार निर्णय गरेर आगामी शुक्रबार, शनिबार र आइतबार विद्यालयका शिक्षकबीच भलिबल प्रतियोगिता आयोजना गर्दैछ । शिक्षा महाशाखाका अधिकृत रमेश विडारीले एक सूचना जारी गर्नुहुँदै भलिबल प्रतियोगितामा सहभागी हुन शिक्षकहरुलाई आव्हान गर्नुभएको छ । हेटौँडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा प्रतियोगिता आयोजना गर्न लागिएको अधिकृत विडारीले जानकारी दिनुभएको छ ।

शिक्षक भलिबलका कारण विद्यालयको पठनपाठन प्रभावित हुने अवस्थाप्रति सचेत रहेको र बिहान, बेलुका खेल आयोजना गरिने उहाँको भनाइ छ । बिहान, बेलुका खेल आयोजना गरिए पनि पठनपाठन प्रभावित हुने सम्भावना रहने उहाँको भनाइ छ । “सकेसम्म पठनपाठन प्रभावित नहुने गरी शिक्षक भलिबलको आयोजना गर्ने छौं । तर, प्रतियोगिताका क्रममा पठनपाठन प्रभावित हुन सक्छ”, विडारीले भन्नुभयो ।

प्रतियोगितामा प्रथम हुने टिमले ३० हजार रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले २५ हजार रुपैयाँ नगदसहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको सेमीफाइनलमा पराजित हुने दुई टिमले सान्त्वनास्वरुप १५/१५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।