मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत आएपछि हेटौंडा अस्पतालको कायापलट भएको भन्ने गरिएको छ । पछिल्लो ३–४ वर्षको अवधिमा अस्पतालमा धेरै परिवर्तन पनि भएको छ । सुविधासम्पन्न भौतिक पूर्वाधार निर्माण भएको छ । अस्पतालको थप भौतिक पूर्वाधार निर्माण निरन्तर जारी छ । अस्पतालमा थुप्रै विशेषज्ञ चिकित्सकसहित पर्याप्त चिकित्सकको व्यवस्था रहेको छ । विभिन्न रोगको उपचारका लागि आवश्यक मेशिन, उपकरण, भवन, कोठा, जनशक्ति थप भइरहेको छ । संघीय, प्रदेश र स्थानीय सरकारले अस्पतालका लागि बजेट व्यवस्थापन पनि भइरहेको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि थप जनशक्ति व्यवस्था गरेको छ । मुटुरोगबाहेक सबैजसो रोगको उपचार हेटौंडा अस्पतालमा सहज बन्दै गइरहेको छ । अस्पतालको सेवा, सुविधा विस्तार र स्तरीकरण हुँदै गएपछि बिरामीको चाप पनि बढिरहेको छ । अहिले दैनिक ५ सयभन्दा बढी बिरामीले ओपीडीमा सेवा लिइरहेका छन् । अस्पतालमा भर्ना भएर उपचार गराउने बिरामीको संख्या पनि निरन्तर वृद्धि भइरहेको छ ।

अस्पतालमा धेरै सुधार भइरहेको र बिरामीको विश्वास पनि बढ्दै गइरहेको अवस्थामा अस्पतालमा अझै केही बेथिति देखिएका छन् । अस्पतालबाट प्रवाह हुने सेवा, सुविधा सुधार भइरहेको अवस्थामा समयसमयमा स्वास्थ्यकर्मीबाट हेलचेक्र्याइँ हुने गरेको, स्वास्थ्यकर्मीले बिरामी तथा कुरुवालाई राम्रो व्यवहार नगर्ने गरेकोजस्ता गुनासा र समस्या आइरहेका छन् । बिरामीको चापअनुसार सहज उपचारको व्यवस्था हुन नसकेको गुनासो पनि उस्तै छ । घण्टौं लाइनमा लागेर ओपीडीमा जँचाउनुपर्ने, ल्याब तथा एक्सरेका लागि पनि उस्तै अवस्था रहेको, अझ अस्पतालको फार्मेसीबाट औषधी लिन पनि लामो लाइनमै बस्नुपर्ने समस्या बिरामीले भोग्दै आएका छन् । स्वास्थ्य बीमाबाट उपचार गराउनेको संख्या बढ्दै जाँदा भिडभाड पनि बढिरहेको छ । अस्पतालको सरसफाइदेखि सेवासुविधासम्मको उचित व्यवस्थापन हुन नसकेको गुनासो बारम्बार आइरहेको छ ।

आइतबार हेटौंडा अस्पताल सरसफाइ गर्ने क्रममा अस्पताल परिसरमा निषेधित वस्तुहरु फेला परेको छ । अस्पताल परिसरमा अर्ना बियरको बोत्तल, चुरोटका ठूटा, सुर्ती तथा गुटखाका खोल फेला परेपछि अस्पतालमा अझै बेथिति मौलाइरहेको गुनासो थपिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी स्थापना दिवसको अवसरमा आइतबार बिहान अस्पताल परिसरको सरसफाई गरेको थियो । अस्पतालमा स्वास्थ्यका दृष्टिले हानिकारक र निषेधित वस्तु उपभोग गरी फालिएको अवस्थामा अवस्थामा भेटिनुलाई अस्पताल प्रशासनको लापरबाही मान्नैपर्छ । विगतमा रिफर सेन्टरको रुपमा लिने गरिएको हेटौंडा अस्पतालको सेवा, सुविधा थपिएर आम सर्वसाधारणको विश्वास बढ्दै गएको अवस्थामा यस्तो बेथिति देखिनु राम्रो संकेत होइन । अस्पतालमा भेटिएका मदाकपदार्थका बोतल र सुर्तीजन्य वस्तुको खोल भवन निर्माण गर्ने कामदारहरुले सेवन गरेर फालेको हुनसक्ने अस्पतालका सफाई तथा सुरक्षा पर्यवेक्षकले बताए पनि यसले अस्पतालमा सुरक्षा व्यवस्था फितलो रहेको पुष्टि गर्दछ ।
सरकारी अस्पतालको स्तरवृद्धि भएर सेवा, सुविधामा सुधार हुनु आम सर्वसाधारणको लागि खुशीको कुरा हो । अस्पतालको स्तरवृद्धि भन्दा पनि आम नागरिकको सरोकार उनीहरुले पाउने सेवाको गुणस्तरसँग हुन्छ । अस्पतालबाट बिरामीले स्तरीय सेवा पाउनु पहिलो शर्त हो । बिरामीले पाउने उपचार सेवासँगै अस्पतालको सरसफाई, स्वास्थ्यकर्मीको राम्रो व्यवहार र अन्य सुविधाले धेरै महत्व राख्दछ । पछिल्लो समय अस्पतालको स्तरवृद्धिसँगै धेरै कुरामा सुधार भइरहेको अवस्थामा अस्पताल प्रशासनले साना–तिना कमजोरी र गुनासालाई दोहोरिन दिन हुँदैन । अस्पतालले बिरामीको उपचारसँगै उनीहरुको सेवा, सुविधाका लागि अस्पतालमा विद्यमान सबै प्रकारको बेथिति अन्त्यका लागि प्रतिष्ठान र अस्पताल प्रशासन गम्भीर बन्नु आवश्यक छ ।