अभिभावक शिक्षा कार्यक्रममा सहभागी अभिभावकहरु ।

हेटौँडाः हेटौँडा–१७, हटियास्थित बालबोध माविमा अभिभावक शिक्षा कार्यक्रम भएको छ । शुक्रबार सेवानिवृत्त शिक्षक ऋषिराम पोखरेल र हेटौँडा क्याम्पसका उपप्राध्यापक अर्पण पराजुलीले अभिभावक शिक्षा कार्यक्रममा सहजीकरण गर्नुभएको थियो । राम्रो सिकाई उपलब्धी राम्रो प्राप्त गरेको आधारमा हेटौँडा उपमहानगरले २ लाख रुपैयाँ बराबर बजेट प्राप्त भएपछि विविध क्रियाकलाप गर्ने क्रममा अभिभावक शिक्षाको कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक रमेश रिजालले जानकारी दिनुभएको छ ।

उपमहानगरले उपलब्ध गराएको बजेटबाट विद्यालयले नजिकको विद्यालय लक्ष्मी आधारभूत विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सहयोग कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुहुँदै प्रधानाध्यापक रिजालले भन्नुभयो, “हामीले विद्यालयको शैक्षिक सुधारकै लागि नयाँ योजना बनाउन, अनुभव आदानप्रदान गर्न व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीलाई एक दिनको भ्रमण कार्यक्रम पनि गरेका छौं ।” विद्यालयले विद्यार्थीलाई प्रोत्साहित गर्न हरेक महिना कक्षागत उत्कृष्ट विद्यार्थी छनोट गर्न सुरु गरेको पनि उहाँको भनाइ छ ।

अभिभावक शिक्षा कार्यक्रममा विद्यालयले कक्षा १ देखि ८ सम्मका छात्रा र दलित छात्रवृत्ति वितरण गरेको छ । १ सय ३३ जना विद्यार्थीलाई जनही ४ सय रुपैयाँका दरले छात्रवृत्ति वितरण गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप अर्यालको अध्यक्षता थता वडा अध्यक्ष उद्धव सत्यालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालयलाई ७ वटा पंखा पनि सहयोग गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अधयक्ष प्रदीप अर्यालले तीन थान, सदस्य कृष्णदेव भण्डारीले एक थान, शिक्षक अभिभावक संघका अध्यक्ष गोविन्दप्रसाद अर्यालले २ थान र प्रधानाध्यापक रमेश रिजालले एक थान गरी कुल सात थान पंखा विद्यालयलाई सहयोग गरिएको छ ।