वक्तृत्वकलामा विजयी सहभागीलाई पुरस्कृत गरेपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौँडाः बागमती प्रदेश युवा परिषद्को आयोजनामा “युवा र नवप्रवर्तन” शीर्षकमा रहेर प्रदेशस्तरीय खुला वक्तृत्वकला प्रतियोगितामा चितवनका देबेन्द्र श्रेष्ठ प्रथम भएका छन् । प्रतियोगितामा दोलखाकी मेलिशा ढुङ्गेल दास्रो भइन् । नुवाकोटकी विविना लामिछाने प्रतियोगितामा तेस्रो भइन् ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५० हजार, ३० हजार र २० हजार प्राप्त गरेका छन् । परिषद्को वार्षिक स्वीकृत युवा प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत बागमती प्रदेशका १३ जिल्लामा आयोजित कार्यक्रममा प्रथम हुन सफल प्रतिस्पर्धीहरू बीच सामाजिक विकास मन्त्रालयको हलमा कार्यक्रम आयोजन गरिएको हो ।

परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले अध्यक्षता गरेको कार्यक्रममा सामाजिक विकास मन्त्री कुमारी मुक्तानको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री मुक्तानले युवा नवीन सोच भएको बताउनुभयो । उहाँले समाज परिवर्तन र राज्यको स्वरुप रुपान्तरणमा युवाको भूमिका जरुरी रहेको स्पष्ट पार्नुभयो । युवालाई नवप्रवर्तनसँग जोड्न सके मात्र मुलूकले समृद्धिको यात्रा तय गर्ने उहाँको बताउनु भयो ।

कार्यक्रममा प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले अबको युवाले बोल्ने कलामात्र नभई, व्यवहारमा पनि राम्रा काम गरेर देखाउने युवाको खाँचो रहेको बताउनुभयो । समाजको बिग्रेको अवस्था युवाले नै सुधार्नु पर्ने उल्लेख गर्नु हुँदै कार्यकारी उपाध्यक्ष चौलागाईंले क्षमता भएका युवालाई देशमै केही गरेर खाने वातावरण रहेको दावी गर्नुभयो । सहभागीले युवा र नवप्रवर्तनबारे ७ मिनेटमा आआफ्ना भनाइ राखेका थिए ।