हेटौँडाः गर्मी बढेसँगै मकवानपुरका विद्यालयमा पठनपाठन बन्द हुन थालेका छन् । गर्मी बढेकै कारण विद्यालयको पठनपाठन निरन्तरता दिन मनहरी गाउँपालिकाले बिहानी कक्षा सञ्चालनमा ल्याएको छ । यता मकवानपुरगढी गाउँपालिकाले भने सोमबारदेखि शुक्रबारसम्मका लागि विदा दिने निर्णय गरेको छ ।
मकवानपुरगढी गाउँपालिकाको शिक्षा शाखाका प्रमुख राम बहादुर घलानले आइतबार एक सूचना जारी गर्दै विद्यालयमा विदा दिने जानकारी गराउनुभयो । अत्यधिक गर्मीका कारण विद्यालयहरुमा विद्यार्थीहरु विरामी पर्न थालेको कारण पठनपाठनमा असहजता भएको गुनासो विद्यार्थी, अभिभावक, शिक्षक र अन्य सरोकारवालाहरुबाट आउन थालेपछि गाउँपालिकाले विद्यालय व्यवस्थापन समितिको बैठकबाट निर्णय गराई विहानी कक्षा सञ्चालनमा ल्याएको हो । गाउँपालिकाले एक सूचना जारी गर्दै आइतबारदेखि बिहानी कक्षा सञ्चालनमा ल्याएको हो । विहानी कक्षा अर्को सूचना नभएसम्मका लागि विहान ५ः४५ बजेदेखि कक्षा सुरु गरी विहान १०ः३० वजेसम्म पठनपाठन गर्ने गरी सञ्चालन गर्न भनिएको छ ।