अभिषेक गोलेलाई म्यान अफ द म्याचको ट्रफी हस्तान्तरण गरिँदै ।

हेटौँडाः तेस्रो संस्करणको हेटौँडा मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार अवरोधपछि रोकिएको १२ नम्बर र १४ नम्बर वडाबीचको खेल आइतबार बिहान खेलाइएको छ । आइतबार भएको खेलमा १४ नम्बर वडा विजयी हुँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा आइतबार बिहान भएको खेलमा १२ नम्बर वडालाई ३–२ गोलले पराजित गर्दै १४ नम्बर क्वार्टरफाइनल प्रवेश गरेको हो । शुक्रबार दुई वडाबीच ११ मिनेटको खेल समय जारी रहेको बेला अवरोधपछि रोकिएको थियो । सोही समयमा १४ नम्बरले १२ नम्बरविरुद्ध २ गोल गरेको थियो । शुक्रबार स्थगित समयदेखि नै आइतबार खेल सुरु गरिएको हो । आइतबारको खेलमा १२ नम्बरका लागि अमृत गोले र अभिषेक गोलेले एक–एक गोल गरे । म्यान अफ द म्याच अभिषेक घोषित भए । १४ नम्बरका लागि उमेश गोङ्बाले गोल गरे । शुक्रबारको खेलमा गोङ्बा र प्रताप थोकरले एक–एक गोल गरेका थिए ।

प्रतियोगिता अन्तर्गत आइतबार दिउँसो दुई खेल हुँदैछ । क्वार्टरफाइनल प्रवेशका लागि १० नम्बर र १३ नम्बर वडाबीच र १८ नम्बर र १५ नम्बर वडाबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको क्वार्टरफाइनलका खेलहरु सोमबारबाट सुरु हुनेछ । सेमिफाइनलका खेलहरु बुधबार र बिहिबार हुनेछ भने फाइनल शनिबार हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । सेमिफाइनल प्रवेश गर्ने दुई टिमले ५०–५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुले ५–५ हजार रुपैयाँ प्राप्त गर्ने जनाएको छ ।