गुगल तस्विर ।

हेटौँडाः विभिन्न घटनामा धादिङ जिल्लामा तीन जनाको मृत्यु भएको छ । धादिङ जिल्लाको धुनिवेशी नगरपालिका–९, बाहुनडाँडामा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँके जिल्लाको कोहलपुर नगरपालिकाका ३६ वर्षीय रबिलाल बिक रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

शुक्रबार राति १० बजेको समयमा त्रिभुवन राजपथमा भारतको दिल्लीबाट काठमाडौंतर्फ जाँदै गरेको भारतीय कार आफै अनियन्त्रित भई सडकबाट १०० मिटर तल खसेको थियो । कारमा सवार ४ जनामध्ये १ जनाको मृत्यु भयो भने ३ जना घाइते भएका छन् । घाईते हुनेमा रुकुम नगरपालिका–२, चौरघारी का ३० वर्षीय प्रेम बहादुर राना, कार चालक प्युठान जिल्ला प्युठान नगरपालिका–१ का ५० वर्षीय प्रेम बहादुर केसी र जाजरकोट जिल्लाको शिवालय गाउँपालिका–७ का ३९ वर्षीय केशब बहादुर सिंह रहेको प्रहरीले जानकारी दिएको छ । घाइते ३ जनाको अवस्था सामान्य रहेको र नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै धादिङ जिल्लाको बेनिघाटरोराङ गाउँपालिका–९ माझिमटारमा एकजना पुरुषको शव फेला परेको छ । शुक्रबार कृष्ण मन्दिरको आडमा रहेको प्रतिक्षालयमा सनाखत नभएको अन्दाजी ४५ वर्षीय कवाडी सामान टिपी हिँड्ने पुरुष व्यक्तिको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

धादिङ जिल्लाकै बेनिघाट रोराङ गाउँपालिका–५ चारधारे सडकबाट लड्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोराङ गाउँपालिका–४ हतुवाल डाँडा बस्ने ६५ वर्षीय भक्त बहादुर चेपाङ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । शुक्रबार पृथ्वी लोकमार्गको सडक छेउबाट ५० मिटर तल खस्दा घटनास्थलमै चेपाङको मृत्यु भएको थियो ।