हेटौँडाः विश्व वातावरण दिवसको अवसरमा साताव्यापी कार्यक्रमअन्तर्गत शनिबार मकवानपुरका साइकल अभियन्तालाई सम्मान गरिएको छ । टोल विकास संस्था नगर समन्वय समितिले शनिबार बिहान मकवानपुर जिल्ला साइक्लिङ संघका संस्थापक अध्यक्ष नरेशलाल श्रेष्ठलाई मरणोपरान्त सम्मान गरेको छ । यस्तै संस्थापक उपाध्यक्ष सैलेश मानन्धर, वर्तमान अध्यक्ष संगीत श्रेष्ठ, हेटौँडा राइडर्स क्लबका संस्थापक अध्यक्ष दिपेन्द्र चन्द ठकुरीलाई पनि सम्मान गरिएको छ ।
मकवानपुर जिल्लामा साइक्लिङमार्फत स्वास्थ्य, वातावरण, पर्यटन र साइक्लिङ खेलको विकासमा योगदान पुर्याएको भन्दै अभियन्ताहरुलाई सम्मान गरिएको हो । अभियन्तालाई सम्मानअघि शनिबार बिहान वातावरणीय सचेतनामूलक साईकल र्यालीको आयोजना गरिएको थियो । हेटौँडा उपमहानगरपालिकाको कार्यालय परिसरबाट सुरु भएको साइकल र्यालि कान्तिराजपथ, नागस्वती, कमाने, हुप्रचौर हुँदै पुनः हेटौँडा उपमहानगरपालिकाको कार्यालय परिसरमै पुगेर समापन भएको थियो । र्यालीमा ६५ जना साइकलयात्रीको सहभागिता रहेको थियो ।
टोल विकास संस्था नगर समन्वय समिति हेटौडाका अध्यक्ष ध्रुव अधिकारीको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाको वातावरण समिति प्रमुख एवम् वडा नम्बर १० का वडा अध्यक्ष फुर्वा दोर्जे लामाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा १४ नम्बर वडा अध्यक्ष दीपक खड्काको पनि उपस्थिति रहेको थियो ।
सचेतनामूलक साइकल र्यालीमा सहभागीहरु ।