हेटौँडाः स्वर्गीय केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान र मकवानपुर जिल्ला भलिबल संघको संयुक्त आयोजनामा हेटौंडामा भएको खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । शनिबार बिहान हेटौंडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा भएको फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मीलाई हराउँदै एपीएफले उपाधी जितेको हो ।
एपीएफले आर्मीलाई क्रमशः २५–२०, १७–२५, २५–१७ र २९–२७ सेटले हराएको हो । जीतसँगै एपीएफले उपाधीसहित २ लाख रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता आर्मीले १ लाख रुपैयाँमा चित्त बुझाएको छ । प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी एपीएफका विजयी थापा घोषित भए । थापाले नगद १५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट सेटर एपीएफका सुबास कुँवर, उत्कृष्ट स्पाइकर आर्मीका शरण सामरी, उत्कृष्ट डिफेन्डर आर्मीका इश्वर थापा, उत्कृष्ट ब्लकर आर्मीका सञ्जय चौधरी र उत्कृष्ट प्रशिक्षक एपीएफका पुष्पराज मल्ल घोषित भए । विधागत उत्कृष्टले नगद ५–५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
शुक्रबार भएको सेमीफाइनल खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै एपीएफ फाइनल प्रवेश गरेको थियो भने आर्मीले नेपाल पुलिसलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । सेमीफाइनलमा एपीएफले उत्कृष्ट पुनरागमन गर्दै फाइनलको यात्रा तय गरेको थियो । पहिलो र दोस्रो सेट गुमाएको एपीएफले तेस्रो, चौथो र पाँचौं सेट जित्दै फाइनल यात्रा तय गरेको थियो । सान्त्वना पुलिस र गण्डकीले ५०–५० हजार रुपैयाँ प्राप्त गरेको छ ।
केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यमा भएको पुरस्कार वितरण कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर राना, बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, हेटौंडा–३ का वडा अध्यक्ष ढलक बहादुर थापा, ४ का वडाध्यक्ष नवीन सिग्देल, ५ का वडा अध्यक्ष सुशील घिमिरे र जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष वेष खड्गी लगायतको उपस्थिति रहेको थियो ।











