चेली सम्मानपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौँडाः कैलाश गाउँपालिकाले ६ जना चेलीलाई सम्मान गरेको छ । पालिकाको वार्षिक नीति तथा कार्यक्रममा समावेश भएको चेली प्रोत्साहन कार्यक्रम अन्तर्गत बुधबार चेली सम्मान कार्यक्रममा २० हजार रुपैयाँ नगद र सम्मानपत्र प्रदान गरिएको हो । कैलाश ६ की संगीता ढुंगाना, प्रतिभा अर्याल र लक्ष्मी श्रेष्ठ, कैलाश–१० की सरुया प्रजा र उर्मिला थिङ तथा कैलाश–२ की लक्ष्मी मुक्तानलाई गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले सम्मान गर्नुभयो ।

गाउँपालिका अध्यक्ष मुक्तानले विवाह अघि कम्तिमा पनि १२ कक्षा पास गर्नुपर्छ र २० वर्ष पूरा हुनुपर्छ भन्ने सन्देश दिनका लागि प्रोत्साहन कार्यक्रम राखिएको बताउनुभयो । उहाँले देशभरका स्थानीय तहहरुमध्ये यो कार्यक्रम पृथक कार्यक्रम भएको बताउनुभयो । गाउँघरमा छोरीलाई बालविवाह गर्ने, पढाइबाट बञ्चित गर्ने चलन अझै रहेको बताउँदै उनले यस्ता कार्यक्रमले सकारात्मक सन्देश जाने विश्वास व्यक्त गर्नुभयो ।

पलिकाका उपाध्यक्ष ठकुरीले कार्यक्रमलाई बृहत रुपमा विस्तार गर्दै लैजाने बताउनुभयो । उहाँले २० वर्ष पूरा भएपछि मात्र विवाह गर्न चेतना फैलियोस र परिपक्व भएपछि मात्र विवाह गर्नुपर्छ भन्ने सन्देश दिन यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

सामाजिक विकास समिति संयोजक राजेन्द्र घिसिङले यो वर्ष ६ जनालाई सम्मान गरेजस्तै अर्काे वर्ष अझ धेरै चेली सम्मान गर्ने वातावरणका लागि आ–आफ्नो क्षेत्रबाट सबैले काम गर्नुपर्ने बताउनुभयो । उहाँले पालिकाबाट बालविवाह मेटाउन सकियो भने सफलता प्राप्त हुने बताउनुभयो । सम्मानित भएकी सरुया प्रजाले सम्मानबाट आफुलाई धेरै उत्साह मिलेको बताउनुभयो । यस खालको कार्यक्रमले महिला दिदिबहिनीलाई प्रोत्साहन मिलेर उमेर पुगेपछि विवाह गर्नुपर्छ भन्ने सन्देश पुगेको उहाँको भनाइ छ । प्रमुख प्रशासकीय अधिकृत अशोक बिष्टले बालविवाह अन्त्यका लागि पालिकाले विभिन्न कार्यक्रम गरिरहेको जानकारी दिनुभयो ।