रेफ्रीलाई बल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गर्नुहुँदै नगरप्रमुख मीना कुमारी लामा ।

हेटौँडाः हेटौंडामा मंगलबारबाट खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सुरु भएको छ । स्व. केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान र मकवानपुर जिल्ला भलिबल संघको संयुक्त आयोजनामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले उद्घाटन गर्नुभयो ।

हेटौँडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उद्घाटनकै अवसरमा नगर प्रमुख मीना कुमारी लामाले भलिबल कोर्टको पूर्वतर्फ निर्माण गरिएको प्यारापिटको पनि उद्घाटन गर्नुभयो । उपमहानगरपालिकाको बजेटमा करिब ३ सय जना क्षमताको पक्की प्यारापिट निर्माण गरिएको छ । प्रतियोगिता उद्घाटनकै अवसरमा मकवानपुर जिल्ला भलिबल संघका पूर्वअध्यक्ष विशाल कुमार बिडारीलाई सम्मान गरिएको छ । पूर्वअध्यक्ष बिडारीलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको छ ।

मकवानपुर जिल्ला भलिबल संघका पूर्वअध्यक्ष विशाल कुमार बिडारीलाई सम्मान गरिँदै ।

प्रतियोगिताको उद्घाटन खेलमा मकवानपुर जिल्ला भलिबल संघ पराजित भएको छ । गण्डकी प्रदेश भलिबल टिमसँग मकवानपुर सोझो सेटमा पराजित भएको हो । गण्डकीले मकवानपुरलाई २५–१८, २५–१७ र २५–१९ को सेटमा पराजित गरेको हो । प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले झापाको पाथीभरा टाइगर भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ । पहिलो र दोस्रो सेट २५–२२, २५–१६ ले आफ्नो पक्षमा पारेको एपीएफले तेस्रो सेट २३–२५ ले गुमाएको थियो । तेस्रो सेट आफ्नो पक्षमा पारेर खेलमा फर्कने प्रयास गरेको पाथीभराले चौथो सेट भने २५–२३ मा गुमाउँदै पहिलो खेलमा पराजित भयो ।

प्रतियोगिता लिग कम नकआउट प्रणालीमा सञ्चालन गरिएको छ । बुधबार ४ खेल हुनेछ । बुधबार बिहान पहिलो खेलमा मकवानपुरले त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । बिहानै दोस्रो खेलमा गण्डकी प्रदेश भलिबल टिमले स्याङ्जा जिल्लाको वालिङ भलिबल क्लबसँग खेल्नेछ । यस्तै बुधबार दिउँसोको पहिलो खेलमा पाथीभरा टाइगर भलिबल क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ भने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले वालिङ भलिबल क्लबसँग खेल्नेछ । प्रतियोगितामा ७ वटा टिमको सहभागिता रहेको छ ।

मकवानपुरविरुद्ध गण्डकी प्रदेश भलिबल टिमका खेलाडी बल प्रहार गर्दै ।

प्रतियोगिताको उद्घाटन कार्यक्रम प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टको अध्यक्षतामा भएको हो । उद्घाटन कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका निवर्तमान प्रमुख हरी बहादुर महत, मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, हेटौँडाका वडाध्यक्षहरु नवीन सिग्देल, ढलक बहादुर थापा र जुना दाहाल, नरनाथ सुवेदी, मकवानपुरका प्रहरी प्रमुख वामदेव गौतम, बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य माधवप्रसाद तिमल्सिना, जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष वेश खड्गीलगायतको उपस्थिति रहेको थियो ।

जेठ २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले २ लाख नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १ लाख रुपैयाँ नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। सेमीफाइनलमा पराजित हुने २ टिमले ५०/५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ प्राप्त गर्दा विधागत उत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।