कथावाचन गर्दै एक विद्यार्थी (बीचमा) ।

हेटौँडाः हेटौँडा–४ स्थित भुटनदेवी माविले शुक्रबारीय सहयोगी क्रियाकलापअन्तर्गत कथावाचन प्रतियोगिता आयोजना गरेको छ । हरेक शुक्रबार विद्यार्थीको औपचारिक शिक्षा, अध्ययन र सिकाईमा सकारात्मक प्रभाव पार्ने सहयोगी क्रियाकलापअन्तर्गत गएको दुई वटा शुक्रबार कक्षा–१ देखि ८ सम्मका विद्यार्थीबीच हरेक कक्षाका इच्छुक विद्यार्थीलाई सहभागी गराइएको विद्यालयको सहयोगी क्रियाकलाप संयोजक शिक्षक सुमन श्रेष्ठले जानकारी दिनुभएको छ ।

जेठ महिनाको पहिलो शुक्रबार १ कक्षादेखि ५ कक्षासम्मका विद्यार्थीलाई कथावाचन प्रतियोगितामा सहभागी गराइएको थियो । यस्तै जेठ महिनाको दोस्रो शुक्रबार कक्षा ६ ७ र ८ का विद्यार्थीबीच कथावाचन प्रतियोगिता आयोजना गरिएको थियो । एउटा कक्षामा ५ वटासम्म सेक्सन रहेको भुटनदेवी माविले एउटा सेक्सनका विद्यार्थीबीच नै प्रतियोगिता गरेको हो । दोस्रो शनिबार सय भन्दा बढीले कथा वाचन गरेको संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।

सेक्सनगत प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई यसै साता बिहान प्रार्थना समयमै पुरस्कृत गरिने बताइएको छ । विद्यार्थीलाई पठन एवम् लेखनमा प्रोत्साहित गर्न सुरुवा कक्षाभित्रै प्रतिस्पर्धा गराइएको र आगामी दिनमा अन्तर कक्षा प्रतिस्पर्धा गराइने संयोजक श्रेष्ठले बताउनुभयो । विद्यार्थीलाई पुरस्कृत गर्दा निबन्ध, कथा, जीवनीसँग सम्बन्धित पुस्तकनै प्रदान गरिने पनि उहाँले बताउनुभएको छ । आउँदो शुक्रबार भने विद्यालयको नेता, उपनेता र सदनको नेता, उपनेता चयनका लागि निर्वाचन गर्ने कार्यतालिका रहेको बताइएको छ ।