हेटौँडाः विदेशबाट फर्किएर नेपालमै उद्यम, व्यवसायमा संलग्न युवाको पहिचान, उनीहरुको योजनामा साथ र सहयोग गर्ने उद्देश्यले बागमती प्रदेश युवा परिषद्ले प्रदेशस्तरीय रिटर्नी सञ्जाल गठन गरेको छ । शनिबार भएको एक भेलाले दोलखाका हरि खत्रीको अध्यक्षतामा ३३ सदस्यीय सञ्जाल निर्माण गरिएको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले जानकारी दिनुभएको छ ।
परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईको अध्यक्षता तथा बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मुक्तानको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री मुक्तानले विदेशबाट फर्किएर स्वदेशमा नै केही गर्ने लक्ष्य र योजना भएका युवालाई उद्यमशील र रोजगारी दिने योजना तथा कार्यक्रम आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
फरक सोच र क्षमता भएका युवालाई रोजगारी दिने तथा उद्यमशीलता प्रवर्धन र उत्पादनमा जोडी स्वदेशमा नै आत्मनिर्भर भई वैदेशिक पलायनलाई न्यूनीकरण र उत्प्रेरित गर्नका लागि रिटर्नी सञ्जाल निर्माण तथा अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईं जानकारी दिनुभएको छ । सञ्जालको आवश्यकता र रिटर्नीहरुको ज्ञान, सीप, पूँजीलाई राष्ट्रिय समृद्धिमा जोड्ने माध्यम प्रदेश युवा परिषद् हुने पनि कार्यकारी उपाध्यक्ष चौलागाईको भनाइ छ ।
प्रदेशका १३ जिल्लाबाट प्रदेश युवा परिषद्को सूचना अनुसार अनलाइनबाट र कार्यालयमा उपस्थित भई आवेदन दिने मध्ये एक सय जनाको प्रतिनिधिको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण राष्ट्रिय युवा परिषद्को रिटर्नी सञ्जालको संस्थापक महासचिव लक्ष्मी प्रसाद आचार्यले गर्नु भएको थियो ।कार्यक्रम उद्घाटन गर्नुहुँदै सामाजिक विकास मन्त्री कुमारी मुक्तान ।