हेटौँडाः विद्यालय तहमा भुगोल विषयको प्रभावकारी शिक्षणसम्बन्धमा शिक्षकलाई अभिमुखीकरण गरिएको छ । भुगोल अध्यापनसम्बन्धी अमेरिकी विज्ञ साम ब्रायनले हेटौँडाका निजी विद्यालयका शिक्षकहरुका लागि तीन दिवसीय अभिमुखीकरण गराउनुभएको हो । बुधबार, बिहीबार र शुक्रबार तीन दिन अभिमुखीकरण कार्यक्रम भएको हो ।
ब्रायनले दक्षिण एसिया र नेपालको भुगोल अध्यापनको विधिका बारेमा अभिमुखीकरण गराउनुभएको हो । हेटौँडा–८ स्थित कमाने एकेडेमीको अग्रसरतामा तालिमको आयोजना गरिएको हो । भुगोलको अध्यापनको क्रममा नक्सा, दृश्य, चित्र देखाउने जस्ता क्रियाकलापमा आधारित भएर प्रभावकारी सिकाई गराउन सकिने विषयमा जोड दिइएको थियो । अभिमुखीकरणमा हेटौँडाको बालजागृति इंग्लिस सेकेण्डरी स्कूल, नवोदय शिशु सदन, सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी, तुल्सीमेहर मेमोरियल स्कूल, मकवानपुर बालविद्या सदन, कमाने एकेडेमी, जिएस निकेतनका १५ जना शिक्षकको सहभागिता रहेको थियो ।
अभिमुखीकरणमा सहभागी बालजागृति इंग्लिस सेकेण्डरी स्कूलकी शिक्षक सरस्वती अधिकारीले अभिमुखीकरण कार्यक्रम प्रभावकारी भएको बताउनुभयो । हाम्रो विद्यालय तहमा भुगोलसम्बन्धमा थोरै मात्रै अध्ययन गर्नुपर्ने भएकोले त्यत्तिधेरै शिक्षण विधिका बारेमा ध्यान नदिइएको उल्लेख गर्नुहुँदै अधिकारीले भन्नुभयो, “क्रियाकलापमा आधारित भएर भुगोल विषयको अध्यापन गराउँदा प्रभावकारी हुने रहेछ । अभिमुखीकरणबाट धेरै सीप र ज्ञान आर्जन गर्न पायौं ।” भुगोल विषयको प्रभावकारी अध्यापनका लागि शिक्षकले निक्कै मिहिनेत गर्नुपर्ने बुझाई भएको अधिकारीको भनाइ छ ।
अभिमुखीकरणका लागि अग्रसरता देखाएको कमाने एकेडेमीकी प्रिन्सीपल प्रतिभा डंगोलले सामाजिक विषयको एउटा अंशको रुपमा नेपालका विद्यालयहरुमा भुगोल विषयको पठनपाठन हुने र त्यत्ति रुचिकर पठनपाठन हुन नसकेको सन्दर्भमा शिक्षकहरुलाई अभिमुखीकरणको प्रयास गरिएको बताउनुभयो । व्यक्तिगत सम्बन्ध र सम्पर्ककै आधारमा अमेरिकी विज्ञ साम ब्रायनलाई हेटौँडामा ल्याउन सफल भएको उहाँको भनाइ छ ।भुगोल अध्यापनसम्बन्धी अभिमुखीकरणमा सहभागी शिक्षकहरु ।