कार्यक्रममा सहभागी भूमिहिन तथा अव्यवस्थित बसोबासी ।

हेटौँडाः मकवानपुरको मनहरी गाउँपालिकामा रहेको भूमिहीन तथा अव्यवस्थित बसोबासीले जनस्तरबाट बृहद् प्रदर्शनी गरी सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले तीन किलोमिटर दूरी सडक जाम गरेरै र्याली निकालेका छन् भने लालपुर्जा दिलाउने प्रक्रिया नै रोक्न खोज्ने पर्सा राष्ट्रिय निकुञ्जलाई ऐन कानून ठूलो कि, जनताको माग ठूलो भन्दै चेतावनी दिएका छन् ।

मनहरीमा शनिबार दिउँसो ठूलो संख्याका भूमिहीनहरुले सरोकारवालालाई बोलाएर आफ्नो मागमा प्रतिबद्धता माग गरे भने माग पूरा नगर्ने भए मनहरी ‘भोट बैँक’ का लागि मात्रै होइन भन्ने सन्देश दिएका छन् । संघीय सांसद महेशकुमार बर्ताैला, बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मुक्तान, प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँ, संविधानसभा सदस्य राजाराम स्याङ्तान, बागमती प्रदेशका पूर्व राज्यमन्त्री सन्तबहादुर चेपाङ, प्रदेश सभाका पूर्व सदस्य ओमबहादुर ग्लान, कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान र मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीसहितलाई साक्षी राखेर ‘भोट बैँक’को रुपमामात्र मनहरीलाई नलिन चेतावनी दिएका हुन् । यसरी जनस्तरबाट प्रश्न उठिरहँदा नेपाली काँग्रेसका जिल्ला सभापति बुद्ध लामा, नेकपा एमाले मकवानपुरका अध्यक्ष तथा पूर्वमन्त्री एकालाल श्रेष्ठ, राष्ट्रिय भूमि आयोगका अध्यक्ष समेत रहनु भएका नेकपा एकीकृत समाजवादीको मकवानपुर जिल्ला अध्यक्ष बिष्णुप्रसाद दाहाल, माओवादी केन्द्रका बागमती प्रदेश सदस्य बीरबहादुर घलानको पनि सहभागिता रहेको थियो ।

कार्यक्रममा भूमिहीनको तर्फबाट हरिचन्द्र शाही ठकुरीले संघीय सांसद, प्रदेशका मन्त्री र सांसद तथा स्थानीय सरकारलाई छुट्टा छुट्टै प्रश्न गर्नु भएको थियो । ‘तपाईहरु कानमा तेल हालेर बस्नु भएको हो कि ? काम पनि गर्नुहुन्छ ?’ शाहीले प्रश्न गरेका थिए, ‘हरेक ठाउँमा राजनीति गर्नका लागि गठबन्धन गर्न मिल्छ भने लालपुर्जा प्रदान गर्न किन गठबन्धन गर्नुहुन्न ?’ भूमिहीन सुकुम्बासी अव्यवस्थित बस्ती संघर्ष समितिका संयोजक क्षेत्रबहादुर मुक्तानले पर्सा राष्ट्रिय निकुञ्जले अवरोध खडा गरेकाले अबरोध हटाएर तत्कालै लालपुर्जाको प्रक्रिया सुरु गर्नुपर्ने बताउनु भएको थियो । उहाँले लिखित दस्ताबेज प्रस्तुत गर्नुहुँदै भन्नुभयो, ‘राष्ट्रिय भूमि आयोग गठन भएर स्थानीय सरकारले लालपुर्जाका लागि गरेको प्रयत्नमा समेत निकुञ्जको तर्फबाट पत्राचार गरी किन अबरोध गरियो ?’ यसको जवाफ भूमिहीनले खोजेको भन्दै उहाँले सडक संघर्षको मैदानमा आफूहरु उत्रिएको बताउनुभयो ।

संघीय सांसद महेश कुमार बर्ताैलालले आफूले नवनियुक्त वन तथा वातावरण मन्त्रीलाई मध्यवर्तीका देशभरिका समस्या हल गर्नका लागि वार्ता गर्न समय मागेको र त्यसबेला संघर्ष समितिका प्रतिनिधिहरुलाई पनि लिएर भेट्न जाने प्रतिबद्धता जनाउनुभयो । बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री कुमारी मुक्तानले प्रदेशभरकै समस्या समाधानका लागि सरकार सक्रिय रहेको बताउनुभयो । उहाँले मध्यवर्ती क्षेत्रमा पर्ने मकवानपुरका केही स्थानीय तहका वडाहरुका समस्या समाधानका लागि ऐन नै संशोधन गर्नुपर्ने अवस्था रहेको र त्यो समस्याको समाधानका लागि सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो । बागमती प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँले लालपुर्जा प्राप्त हुने ठोकुवा गर्दैैै जनस्तरबाट कुरा उठ्न अझै ढिला भएको टिप्पणी गर्नुभयो । उहाँले भूमिहीनको समस्या समाधानका लागि रकम संकलन गरेर दुरुपयोग नगर्न समेत आग्रह गर्नुभयो ।