हेटौँडाः दोस्रो बागमती प्रदेश खेलकुदमा काठमाडौं जिल्ला टिम च्याम्पियन बनेको छ । पहिलो संस्करणमा दोस्रो स्थानमा रहेको काठमाडौंले दोश्रो संस्करणमा भने पहिलो स्थान कब्जा गरेको हो । बागमती प्रदेश खेलकुद परिषद्को आयोजनामा जेठ ७ गतेबाट सुरु भएको प्रदेश खेलकुद शनिबार सम्पन्न हुँदा काठमाडौं ३१ स्वर्णसहित २२ रजत र २५ कांस्यसहित टिम च्याम्पियन बन्यो ।
डिफेन्डिङ च्याम्पियन चितवन दोस्रो स्थानमा रहँदा काभ्रे तेस्रो भयो । चितवनले २३ स्वर्ण, २४ रजत र २५ कांस्य तथा काभ्रेले २२ स्वर्ण, १३ रजत र १८ कांस्य पदक प्राप्त गरेको छ । शीर्ष तीन स्थानमा रहने टोलीलाई मुख्यमन्त्री जमकट्टेल, बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान, प्रतियोगिता संयोजक तथा प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीलगायतले पुरस्कृत गर्नुभयो ।
मकवानपुर, काठमाडौं, ललितपुर र चितवनमा भएको खेलकुदमा १३ खेलमध्ये १२ खेलका कुल १६८ स्वर्ण पदक गणना भएको थियो । पौडी खुला प्रतियोगिता भएकाले पदक तालिकामा पौडीको पदक गणना गरिएको छैन । बागमती प्रदेशका १३ जिल्लाका करिब २५ सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताका स्वर्ण, रजत र कांस्य विजेताले क्रमशः ५ हजार, ४ हजार र ३ हजार नगद पुरस्कार पाए ।
