Home अर्थ/व्यापार सहकारीको समस्या र समाधानका उपायबारे कार्यशाला र अन्तरक्रिया

सहकारीको समस्या र समाधानका उपायबारे कार्यशाला र अन्तरक्रिया

कार्यक्रमको उद्घाटन गरिँदै ।

हेटौँडाः मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघ लिमिटेडको आयोजनामा वर्तमान अवस्थामा सहकारी संस्थाका समस्या र समाधानका उपायबारे शुक्रबार हेटौँडामा कार्यशाला र अन्तरक्रिया भएको छ । संघका अध्यक्ष रामहरि न्यौपानेको सभाध्यक्ष तथा बागमती प्रदेश सरकारका उद्योग, पर्यटन तथा सहकारी मन्त्रालयका सचिव गोविन्द रिजालको प्रमुख आतिथ्यमा अन्तरक्रिया भएको हो ।

अन्तरक्रियामा बोल्नुहुँदै सचिव रिजालले केही सहकारीहरुको गतिविधिका कारण अन्य सबै सहकारीप्रति शंका उत्पन्न भएको बताउनुभयो । उहाँले सहकारीमा देखिएको समस्या समाधान गर्न जरुरी रहेको बताउनुभयो । सहकारीमा अहिले देखिएको समस्याको समाधानका उपायहरु खोजी गर्न सरकारले आफ्नोतर्फबाट चिन्ता व्यक्त गरिरहेको उहाँको भनाई छ । अहिले नीति तथा कार्यक्रम बनाउने चरणमा रहेको बताउनुहुँदै उहाँले प्रदेशस्तरमा सहकारीसँग जोडिएका कार्यक्रमहरुलाई मन्त्रालयले समेटेर लैजाने गरी काम भइरहेको बताउनुभयो ।

अन्तरक्रियामा सहभागी प्रारम्भिक सहकारीका पदाधिकारी तथा कर्मचारीहरु ।

अन्तरक्रियामा बोल्नुहुँदै बागमती प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटाले अहिले विधिमा नचलेका सहकारीहरु धराशायी अवस्थामा पुगेको बताउनुभयो । अनुत्पादक क्षेत्रमा लगानी गरी बचतकर्ताका रकम फिर्ता दिन नसक्दा केही सहकारीहरु फरार भएको उहाँले बताउनुभयो । सहकारीले उत्पादन क्षेत्रमा काम गरिरहेको र बजारीकरण गरिरहेको अवस्थामा केही सहकारीहरुको गतिविधिका कारण अन्य सहकारीप्रति हेर्ने दृष्टिकोणमा शंकाको अवस्था सिर्जना भएको उहाँको भनाई छ । प्रदेश सहकारी बोर्डले सहकारी क्षेत्रमा अनुगमनलाई तीव्रता दिएर आवश्यक कारबाही गरिने देवकोटाले बताउनुभयो ।

हेटौँडा–४ का वडाध्यक्ष नवीन सिग्देलले सहकारीलाई रोजगारसँग जोड्नुुपर्ने बताउनुभयो । मुलुकको आर्थिक व्यवस्थालाई उकास्न सहकारी क्षेत्रको महत्व रहेको बताउनुहुँदै उहाँले सरकारले नीति तथा कार्यक्रममा सहकारीहरुको कार्यक्रमलाई महत्व दिनुपर्ने बताउनुभयो । यस्तै, हेटौँडा उपमहानगरपालिकाका सहकारी विभाग प्रमुख हिमप्रसाद पौडेलले अहिले सहकारी क्षेत्रमा केही बिचौलियाहरु मौलाएको बताउनुभयो । उपमहानगरपालिकाले अहिले तत्काल सहकारी दर्ता गर्न बन्द गरिएको उहाँले जानकारी दिनुभयो ।

अन्तरक्रियासँगै राष्ट्रिय सहकारी बैंकका प्रशिक्षक बल्लभराज तिमल्सिनाले सहकारीका समस्या र समाधानका उपायका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र प्रस्तुतीपछि अन्तरक्रिया गरिएको थियो । पत्रकार सुरेश श्रेष्ठले सहजीकरण गर्नुभएको बहसमुलक अन्तरक्रियामा बागमती प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटा, बहुउद्देश्यीय सहकारी संघ मकवानपुरका अध्यक्ष रामहरि न्यौपाने, बहुउद्देश्यीय सहकारी संघका केन्द्रीय सदस्य भोलाप्रसाद शर्मा खरेल, राष्ट्रिय सहकारी बैंकका प्रशिक्षक बल्लभराज तिमल्सिना, मकवानपुर जिल्ला शाखाका प्रबन्धक रामेश्वर अर्याल, हेटौँडा उपमहानगरपालिकाको सहकारी शाखाका प्रमुख हिमप्रसाद पौडेल, बागमती प्रदेश सहकारी संघका सञ्चालक विमलकुमार ढकाल, जिल्ला बचत संघ मकवानपुरका सचिव वीरेन्द्रप्रसाद ढुंगानाको सहभागिता रहेको थियो । पछिल्लो समय तरलता अभावका साथै अनुत्पादक क्षेत्रमा भएको लगानी असुलीमा समस्या भएसँगै ठूला बैंक तथा वित्तीय संस्थासँगै सहकारी संस्थामा पनि समस्या भएको छ । कार्यक्रममा बहुउद्देश्यीय, बचत तथा ऋण, कृषि, दुग्ध उत्पादक सहकारीका पदाधिकारी तथा कर्मचारीको सहभागिता रहेको थियो । कार्यक्रमको समापनमा १४ बुँदे घोषणापत्र समेत जारी गरिएको थियो ।

Exit mobile version