हेटौँडाः बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा मकवानपुर पराजित भएको छ। बिहिबार चितवनस्थित गौतम बुद्ध रंगशालामा भएको सेमीफाइनलमा मकवानपुरले ललितपुरसँग टसमा पराजित भएको हो।
वर्षाका कारण खेल प्रभावित भएपछि टस गरिएको थियो। टस जितेर पहिले ब्याटिङ गरेको मकवानपुरले निर्धारित १५ ओभरमा ४ विकेट गुमाएर १३८ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको ललितपुरले ३ ओभरमा १ विकेट गुमाएर ३० रन बनाएको थियो। वर्षाका कारण खेल निरन्तर हुन नसकेपछि टस गर्दा मकवानपुर पराजित भएको मकवानपुरको क्रिकेट टिमका व्यवस्थापक विनोद बानियाँले जानकारी दिनुभयो।
दोस्रो सेमिफाइनलमा काठमाडौं र चितवन बीच खेल भइरहेको छ।











