पुरस्कार वितरणपछि व्याड्मिन्टन प्रतियोगिताका विजयी खेलाडी, पदाधिकारी र अतिथिहरु ।

हेटौँडाः बागमती प्रदेश खेलकुद प्रतियोगितामा व्याड्मिन्टन खेलमा मिक्स डबल्समा मकवानपुरका अभिषेक बोस र आयुष्मा नेपालको जोडीले स्वर्ण पदक जितेका छन् । हेटौँडा–११ स्थित कभर्डहलमा बुधबार भएको फाइनल खेलमा धादिङका अस्बिन थापा मगर र रुबिना थापा माथि २१–४ र २१–१८ को सहज जित निकाल्दै बोस र नेपालको जोडीले स्वर्ण पदक जितेका हुन् । धादिङका राम मल्ल ठकुरी र निस्था श्रेष्ठको जोडीले कांस्य पदक जिते ।

मकवानपुरका लागि स्वर्ण पदक विजेता अभिषेक (बायाँबाट पहिलो) आयुष्मा (बायाँबाट तेस्रो) ।

यस्तै चितवनका राजु गरञ्जा र काठमाडौंकी रिहाना शेरचनले सिंगल्समा स्वर्ण जितेका छन् । डिफेण्डिङ च्याम्पियन राजुले पुरुष सिंगल्स र रिहान्नाले महिला सिंगल्समा स्वर्ण जितेका हुन् । राजुले फाइनलमा चितवनकै निसान गुरुङलाई २१–१० र २१–५ ले हराए । रिहान्नाले भने स्वर्ण भिडन्तमा काठमाडौंकी मनीषा खड्कालाई २१–५ र २१–६ ले हराइन् । मकवानपुरकी आयुश्मा नेपालले कांस्य पदक जितिन् । उनले धादिङकी बबिता पुरीलाई १९–२१, २१–१३ र २१–१६ ले हराइन् ।

पुरुषतर्पm काभ्रेका आशिष तामाङले कांस्य पदकको प्रतिस्पर्धामा धादिङका अस्बिन थापामगरमाथि २१–५ र २१–६ को जित निकाले । महिला डबल्समा रामेछापकी सोमा गुरुङ र संगीता तामाङको जोडीले स्वर्ण जिते । यो जोडीले फाइनलमा ललितपुरका श्रेया बज्राचार्य र राहिता शाक्यमाथि २१–१७ र २१–१६ को जित रचे । काठमाडौंकी मनिषा खड्का र रिहान्ना शेरचनको जोडीले कांस्य पदक प्राप्त गरे । पुरुष डबल्समा ललितपुरका ससिन डंगोल र संगीता तामाङको जोडीले सफलता पाए । यो जोडीले फाइनलमा धादिङका लक्ष्मण मल्ल ठकुरी र राम मल्ल ठकुरीको जोडीलाई २१–१२ र २१–१६ ले हराए । यो विधामा चितवनका राजु गर्जा र सुरोज गुरुङले कांस्य पदक जिते । पाँच विधामा प्रतिस्पर्धा भएको ब्याडमिन्टनमा ५७ खेलाडी सहभागी थिए ।

बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री कुमारी मुक्तान, प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले विजेता खेलाडीलाई पुरस्कार वितरण गर्नुभएको थियो ।