लागूऔषधको उत्पादन, ओसारपसार, बिक्री तथा सेवन गैरकानुनी छ । लागूऔषधको कारोबार बढ्दो रुपमा रहेको छ । कानुनीरुपमा दण्डनीय भए पनि लागूऔषधको समस्या दिनप्रतिदिन जटिल बनिरहेको छ । नेपालमा मात्र नभई विश्वभर लागूऔषधका कारण जटिल समस्या उत्पन्न भइरहेको छ । लागूऔषधको समस्याले समाज, देश र विश्वमा परेका नकारात्मक असर वास्तवमै चिन्ताजनक छ । नेपालमा लागूऔषध गाँजा, चरेस र अफिमको उत्पादन हुनेगरेका कारण दिनहुँजसो लागूऔषधसहित मानिस पक्राउ परेका समाचार सार्वजनिक हुने गरेका छन् । नेपालमा उत्पादन नहुने अन्य लागूऔषध पनि उल्लेख्य परिणाममा कारोबार हुने गरेको छ । लागूऔषध कारोबार रोकथामका लागि विश्वव्यापीरुपमा धेरै कानुनी व्यवस्था गरिएको भए पनि यसको न्यूनीकरण हुन सकेको छैन । विश्वका धेरैजसो देशका किशोरकिशोरी तथा युवाहरु लागूऔषध दुव्र्यसनको समस्याबाट पीडित भइरहेको अवस्थामा मकवानपुर जिल्लामा पनि यसको कारोबार बढ्दै गएको देखिन्छ ।
मकवानपुर प्रहरीले गत बैशाख महिनामा मात्र करिब ८ क्वीन्टल लागूऔषध गाँजा बरामद गरेको छ । प्रहरीले लागूऔषध ओसार–पसारमा संलग्न २१ जनालाई प्रक्राउसमेत गरेको छ । पक्राउ पर्नेमा १८ जना नेपाली र ३ जना भारतीय रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांक छ । बैशाख महिनामा प्रहरीले लागूऔषधसम्बन्धी १३ वटा मुद्धासमेत दर्ता गरेको छ । एक महिनाको अवधिमा प्रहरीले गाँजाबाहेक अन्य थुप्रै प्रकारका लागूऔषधसमेत बरामद गरेको छ । प्रहरीले ३ सय ९० मिलिग्राम खैरो हिरोइन, ३ सय मिलिग्राम अफिम बरामद गरेको छ । यस्तै, डाइजेपाम २० ट्याब्लेट, फेनारगन १५ ट्याब्लेट, नोर्फिन २८ ट्याब्लेट, कोरेक्स ८ बोतल, एनार्गन ७२ बोतल र ईन्फाडोल, ट्रामाडोल ५७ बोतल बरामद गरेको छ । मकवानपुर प्रहरीले गत चैत महिनामा पनि लागूऔषध कारोबारमा संलग्न २५ जना पक्राउ गरेको थियो । उक्त महिनामा प्रहरीले ३ सय २४ केजी लागूऔषध गाँजा बरामद गरेको थियो ।
पछिल्लो समय मकवानपुर जिल्ला लागूऔषध ओसारपसार गर्ने ट्रान्जिट बनिरहेको छ । मकवानपुरको पहाडी भेगमा उत्कृष्ट प्रजातिको गाँजा खेती हुने गरेका कारण पनि लागूऔषध यहाँबाट धेरै मात्रामा गाँजा बरामद हुने गरेको छ । प्रहरीले हरेक वर्ष गाँजा तथा अफिम बाली नष्ट गर्ने गरेको भए पनि गाँजा लगाउने क्रम अन्त्य हुन सकेको छैन । नेपाल–भारत व्यापारको मुख्य नाका वीरगञ्जबाट कारोबार हुने लागूऔषध मकवानपुर र हेटौंडा भएर ओसारपसार हुने भएकाले धेरै संख्या र परिमाणमा लागूऔषध बरामद हुने गरेको पाइन्छ । लागूऔषध ओसार–पसारमा भारतीय नागरिकको सक्रियता पजि उल्लेख्य पाइने गरेको छ । भारतीयहरुले नेपालबाट भारततर्फ लागूऔषध गाँजा लिएर जाने क्रममा पक्राउ पर्ने गरेका छन् । थोरै समयमा धेरै पैसा कमाउने लोभमा लागूऔषध कारोबारमा लाग्ने क्रम बढ्दै जाँदा यसले बालबालिका तथा युवालाई कुलतमा धकेल्न सहयोग गरिरहेको छ ।
लागूऔषध सेवन तथा कारोबारले अपराध र अराजकता निम्त्याउने गर्दछ । यसले समाज, देश तथा विश्वमै ठूलो असर पारिरहेको छ । नेपाल–भारतबीच रहेको खुला सीमाका कारण लागूऔषधको कारोबार नियन्त्रण गर्न कठिन बन्ने गरेको छ । नेपालबाट गाँजा, चरेस तथा अफिम भारततर्फ जाने गरेको छ भने भारतबाट औषधिको मापदण्डमा परेका लागूऔषध तथा अन्य लागूऔषध भित्रने गरेको छ । लागूऔषधको बढ्दो कारोबारलाई नियन्त्रण गर्न सामूहिक प्रयास आवश्यक बनेको छ । प्रहरी प्रशासनसँगै किसान, यातायातकर्मी, व्यवसायी सबै सजग भएमा लागूऔषध नियन्त्रण गर्न असम्भव हुँदैन । सँगसँगै लागूऔषध नियन्त्रणका लागि राजनीतिक नेतृत्व तथा नागरिक समाजले तीनै तहको सरकारलाई आवश्यक दबाब दिन सकेमा लागूऔषधको बढ्दो कारोबार न्यूनीकरण गर्न सहयोग पुग्नेछ ।