हेटौँडाः बागमती प्रदेश सरकार सही दिशामा नभएको एकीकृत माक्सवादी लेलिनवादीका प्रदेश सभा सदस्य कृष्ण प्रसाद सिलवालले टिप्पणी गर्नुभएको छ । बुधबार बजेटमाथिको छलफलको क्रममा बोल्नुहुँदै सिलवालले व्यवसायी धरासायी, कृषि घाटा हुँदै गरेको अवस्थामा बागमती प्रदेश सरकारले चिठ्ठा विधेयक ल्याउन लागेको भन्दै टिप्पणी गर्नुभएको हो ।
प्रदेश सभा सदस्य सिलवालले सरकारले कर्मचारीको तलब दिन नसकेको अवस्थामा बागमती प्रदेश सरकारले बिनाविभागीय मन्त्री नियुक्त गरेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले बिना विभागीय मन्त्री नियुक्त गर्नु सुशासन नभएको धारणा राख्नुभयो । प्रदेश सरकारको औचित्यमाथि प्रश्न उठ्दै गर्दा सबै मिलेर उचित उत्तर दिन सक्नुपर्ने बताउँदै उहाँले भ्रष्टाचाररहित समाज निर्माणमा लाग्नु पर्नेमा जोड दिनुभयो । नेपालीलाई भुटानी शरणार्थी बनाउने भ्रष्टाचारमा संलग्न सबैलाई कारबाही गर्नुपर्ने बताउनुभयो । प्रदेश सभा सदस्य सिलवालले आवश्यक्ताको आधारमा बजेट बिनियोजन गर्न माग राख्नुभएको छ ।