मकवानपुरको क्रिकेट टिम । फाइल तस्वीर ।

हेटौँडाः दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत क्रिकेटमा भक्तपुरलाई पराजित गर्दै मकवानपुर सेमीफाइनल प्रवेश गरेको छ । बुधबार बिहान चितवनस्थित निर्माणाधिन गौतमबुद्ध रंगशालामा भएको खेलमा भक्तपुरलाई ७ विकेटले पराजित गर्दै मकवानपुर सेमीफाइनल प्रवेश गरेको हो ।

टस जितेर मकवानपुरले भक्तपुरलाई व्याटिङको निम्तो दिएको थियो । पहिले व्याटिङ गरेको भक्तपुरले निर्धारित १५ ओभरमा १० विकेट गुमाएर ७० रन मात्रै जोड्न सफल भयो । भक्तपुरका लागि सुवास खत्रीले २२ र क्रिस कार्कीले ३० रन जोड्नु बाहेक अन्य व्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेन । भक्तपुरका धिरज अधिकारी र सुरञ्जन मल्ल शून्यमै आउट भए । भक्तपुरलाई सस्तैमा समेट्ने क्रममा मकवानपुरका रिजन ढकालले सुरुवाती ३ सहित ४ विकेट लिए ।

७१ रनको लक्ष्य पछ्याएको मकवानपुरले ३ विकेट गुमाएर ११ ओभर ३ बलमै लक्ष्य भेट्टायो । मकवानपुरका लागि ओपनर गौरव खड्काले अविजित रहँदै ३४ रन जोडे भने मकवानपुरका लागि तक्षक सिम्खडाले पनि अविजित रहँदै २८ रनको योगदान गरे । मकवानपुरका शुभ कंशाकार र विशाल फुयाँल शून्यमै आउट हुँदा कप्तान सुमन सुनार २ रनमै आउट भएका थिए । मकवानपुरका रिजन ढकाल म्यान अफ द म्याच घोषित भए । अब मकवानपुरले ललितपुर र नुवाकोटबीचको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ ।

बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत मंगलबारबाट सुरु भएको पुरुष क्रिकेटमा ११ वटा जिल्लाको टिम सहभागी छ । प्रदेशका १३ जिल्लामध्ये सिन्धुली र रसुवा जिल्ला सहभागी छैन । महिलातर्फ भने सोमबार नै प्रतियोगिता सकिसकेको छ । सोमबार सम्पन्न फाइनलमा काठमाडौंले चितवन जिल्लालाई ५७ रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।