हेटौँडाः चितवनमा गैंडाको आक्रमणबाट १ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । गैंडाको आक्रमणबाट भरतपुर महानगरपालिका–१७, नारायण चोकका ६० वर्षीय झलकराज पौडेलको मृत्यु भएको र सोहि स्थानका ५७ वर्षीय टंकनाथ रेग्मी घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
शनिबार पौडेल आफ्नै बारीमा काम गरिरहेको अवस्थामा गैंडाले आक्रमण गर्दा गम्भीर घाईते भएका थिए । घाइते पौडेललाई उपचारका लागि जिल्ला अस्पताल भरतपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रेग्मी सामान्य उपचार पश्चात डिस्चार्ज भई घर फर्केका छन् ।
यस्तै चितवनको खैरहनी नगरपालिका–७, सुल्तनामा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ११ वर्षीय युनिष चौधरी रहेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । शनिबार चौधरी ढुङ्ग्रेखोलामा पौडि खेल्ने क्रममा डुबेका थिए । चौधरीको उपचारका लागि जिल्ला अस्पताल भरतपुर पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।