अन्तिम दिनको कार्यक्रमको सहजीकरण गर्नुहुँदै साहित्यकार मीनप्रसाद लामिछाने ।

हेटौँडाः सर्जक सञ्जाल मकवानपुरको आयोजनामा भ्रष्टाचारविरूद्ध सप्ताहव्यापी चोक–चोकमा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । आइतबार हेटौँडा–१० स्थित बुद्धचोकबाट शुरु भएको सप्ताहव्यापी कार्यक्रम हेटौँडा–४ शितलमहलचोक, हेटौँडा–२, संगमचोक, हेटौँडा–६, चौघडाचोक, हेटौँडा–१६, हटिया, हेटौँडा–८ निमचोक हुँदै शनिबार पुनः बुद्धचोकमा रचना वाचन कार्यक्रम गरिएको हो ।

शनिबार आयोजित कार्यक्रममा २८ सर्जकले रचना वाचन गरे । रोशनी चौलागाईँ, जनार्दन खनाल, दीपक गौतम, संप्रस पौडेल, देवराज तिवारी, यश लामा, सानु खनाल, शम्भुप्रसाद बाँस्कोटा, सुवास खनाल, गोविन्द दुलाल, राजकुमार लामिछाने, केशव समर्पण, शोभा थापा, सुदीप राज गिरी, एसके निधन, छवि अनित्य, हयग्रीव आचार्य, किसन पौडेल, राजकुमार चौधरी, सञ्जीत श्रेष्ठ, गणेश श्रेष्ठले रचना वाचन गर्नुभयो । रचना वाचन गर्नुहुनेमा १४ वर्षका नवसर्जक समर्पण न्यौपाने र ८० वर्षका नन्दरत्न स्थापित पनि हुनुहुन्थ्यो ।

कार्यक्रममा भ्रष्टाचारविरूद्धको नागरिक निगरानी संस्था मकवानपुर तथा सहयोगी मन नेपालका अध्यक्ष केदारप्रसाद चौलागाईँले यस कार्यक्रम र आफ्नो उद्देश्य मिलेकोले सहकार्य गर्न पाउँदा खुशी लागेको बताउनु भयो । सबैले आ–आफ्नो ठाउँबाट भ्रष्टाचारविरुद्ध लाग्नुपर्ने भन्दै उहाँले आगामी दिनमा समेत कार्यक्रमहरू निरन्तरताको कामना गर्नुभयो ।

सर्जक सञ्जाल मकवानपुरद्वारा आयोजित सप्ताहव्यापी कार्यक्रम मकवानपुरका सबै साहित्यिक संस्थाका सहभागितामा रहेको भन्दै संयोजक निमेष निखिलले सडकमा रचना वाचन गर्दै गर्दा महिनामा एउटा कार्यक्रम सडकमा गर्दा आम मानिससँग जोडिन पाइने हुँदा त्यसतर्फ ध्यान केन्द्रित भएको बताउनु भयो । कार्यक्रममा स्थानीय, यात्रुहरू, शिक्षक, विद्यार्थी तथा मिडियाकर्मी लगायत स्रोता दर्शकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

भ्रष्टाचारका विभिन्न घटनाहरू सार्वजनिक भैरहेका बेला कारबाहीका लागि सर्जकहरूले देशव्यापी रूपमा दबाब सिर्जना गर्ने क्रम बढ्दै जाँदा ७ दिने अभियानका रूपमा समापन भए तापनि खबरदारी गर्ने काम कहिल्यै नरोकिने आयोजकले बताएको छ । समापन कार्यक्रम मीनप्रसाद लामिछानेले सहजीकरण गर्नुभएको हो ।