नवनियुक्त मन्त्रीहरुलाई सपथ गराउनुहुँदै प्रदेश प्रमुख यादवचन्द्र शर्मा ।

हेटौँडाः बागमती प्रदेश सरकारमा ६ जना मन्त्री थपिएका छन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आइतबार दिउँसो ३ बजे ६ जनालाई मन्त्री नियुक्त गर्नु भई सपथ गराउनु भएको छ । ६ जना मन्त्री थपिएसँगै गत पुस २५ गते मुख्यमन्त्री नियुक्त हुनुभएका जम्कट्टेल सरकारले ४ महिनापछि पूर्णता पाएको छ ।

नेपाली काँग्रेसका ४ र नेकपा एकीकृत समाजवादीका २ गरी ६ जना मन्त्री थपिएका हुन् । ६ जना मन्त्री थपिएपछि बागमती प्रदेश सरकार १२ सदस्यीय भएको छ । नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता समेत रहनुभएका रामकृष्ण चित्रकार बिना विभागीय मन्त्री बन्नुभएको छ । चित्रकारलाई नयाँ मन्त्रालय गठन भएपछि जिम्मेवारी दिइने बुझिएको छ ।

नेपाली काँग्रेसबाट पुकार महर्जन पर्यटन, उद्योग तथा सहकारी मन्त्री, उत्तम जोशी स्वास्थ्य मन्त्री, मसिना खड्का वन तथा वातावरण मन्त्री नियुक्त हुनुभएको छ । यस्तै नेकपा एकीकृत समाजवादीबाट डा. राजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपन्छी विकास मन्त्री र लक्ष्मण लम्साल श्रम, रोजगार तथा यातायात मन्त्री नियुक्त हुनुभएको छ । नवनियुक्त मन्त्रीहरुलाई सपथ गराउने कार्यक्रममा मुख्यमन्त्री शालिकराम जम्कट्टेलको पनि उपस्थिति रहेको थियो ।

यसअघि गंगा नारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानून मन्त्री, कुमारी मुक्तान सामाजिक विकास मन्त्री, युवराज दुलाल भौतिक पूर्वाधार विकास मन्त्री, बहादुर सिं लामा (तामाङ्) आर्थिक मामिला तथा योजना मन्त्री र तीर्थ बहादुर लामा खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्री हुनुहुन्छ ।