हेटौंडाः हेटौंडा व्यापार महोत्सव २०७९ बाट करिब साढे सात लाख रुपैयाँ नाफा भएको छ । गत माघमा सञ्चालित राष्ट्रिय औद्योगिक व्यापार मेलामा खर्चभन्दा साढे सात लाख रुपैयाँ आम्दानी बढी भएको जनाइएको छ ।

शुक्रबार मेलाको मुख्य आयोजक मकवानपुर उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन गर्दै मेलाको आय–व्यय सार्वजनिक गरेको छ । महोत्सवबाट १ करोड २१ लाख ४९ हजार ५७६ रुपैयाँ आम्दानी भएको संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले जानकारी दिनुभयो । महोत्सवमा एक करोड १३ लाख ९८ हजार ७७६ रुपैयाँ खर्च भएको बताइएको छ । महोत्सवबाट संघले सात लाख ५० हजार ८ सय रुपैयाँ नाफा गरेको अग्रवालले जानकारी दिनुभयो ।

प्रायोजकहरुबाट ३२ लाख ८० हजार जिन्सी प्राप्त हुने क्रममा रहेको उहाँले जानकारी दिनुभयो । प्राप्त हुन बाँकी रहेको रकम यही आर्थिक वर्षभित्र संकलन हुने उहाँको भनाई छ । मकवानपुर उद्योग वाणिज्य संघ हेटौंडाले २०७९ माघ ११ गते देखि २३ गते सम्म १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सव आयोजना गरेको थियोे । संघले महोत्सवबाट अग्रिम आयकर कट्टी (टीडीयस), मूल्य अभिवृद्धि कर (भ्याट), आय करलगायतबाट १९ लाख रुपैयाँ राज्यलाई राजश्व बुझाएको छ ।

महोत्सवबाट संघले स्टल भाडाबाट ४२ लाख ४६ हजार ९०३ रुपैयाँ, टिकट बिक्रीबाट ५६ लाख ९० हजार २ सय ८४ रुपैयाँ र बाल उद्यानबाट २२ लाख १२ हजार ३ सय ८९ रुपैयाँ गरी १ करोड २१ लाख ४९ हजार ५७६ रुपैयाँ आम्दानी गरेको हो । संघले महोत्सवको विज्ञापन तथा प्रचारप्रसारमा १५ लाख ३५ हजार ५९३ रुपैया“, छपाई तथा मसलन्दमा १ लाख २३ हजार, लेखापरीक्षणमा १० हजार, स्टल स्टेज निर्माणमा २७ लाख ५४ हजार ८० रुपैयाँ, कलाकार पारिश्रमिकमा ६ लाख ५० हजार र सजावटमा ९१ हजार २२० रुपैयाँ खर्च गरेको छ ।

चौर व्यवस्थापनमा ६ लाख २३ हजार ९०६, ज्यालामा ८ लाख ३ हजार ४०१, डान्सिङ स्टारमा ७७ हजार ५५६, बिमामा १ लाख ४४ हजार ८८०, साउण्ड सिस्टममा ६ लाख १५ हजार ५५६, सुरक्षामा ६ लाख ८३ हजार ६२६ खर्च भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

यसैगरी, मायाको चिनोमा ३ लाख ७३ हजार १२०, खाना नास्तामा ७ लाख ७८ हजार ७४५, समिति÷उपसमितिमा ८७ हजार ७७३, सरसफाईमा ३ लाख ६६ हजार ३८८, अतिथि सत्कार खर्चमा ३४ हजार ५ सय, विद्युतमा ३ लाख ६० हजार ८७५, विविध खर्चमा २ हजार ७६२, ज्याकेट खर्चमा ६८ हजार ६ सय, पानी व्यवस्थापनमा १ लाख ६३ हजार ६८०, दुलही श्रृंगार प्रतियोगितामा १९ हजारर ४२८, तलबमा २ लाख ७९ हजार ५५३, हेटौंडा आइडल १ लाख ८४ हजार ५३४ र पर्यटन खर्चमा ३६ हजार गरी १ करोड १३ लाख ९८ हजार ७ सय ७६ रुपैयाँ खर्च भएको हो ।