हेटौँडाः नेकपा एमालेका केन्द्रीय सल्लाहकार समितिका सदस्य एवम् बागमती प्रदेश सरकारको प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारी नवीन सोच र विचार बोकेको जननेता भएको बताउनुभएको छ । बुधबार नेकपा एमाले मकवानपुर जिल्ला पार्टी कार्यालयको सभाहलमा भएको ३० औं मदन–आश्रित स्मृति दिवसको अवसरमा बोल्नुहुँदै उहाँले पुर्वीय मुलुकहरुमा कम्युनिष्ट आन्दोलन समाप्त हुँदै गएको अवस्थामा भण्डारीले आफ्नो विचार र आदर्शबाट कम्युनिष्ट आन्दोलनलाई जोगाउन योगदान पुर्याएको बताउनुभयो ।
कम्युनिष्टहरु नागरिकबाट चुनिएर मात्र सत्तामा पुग्नुपर्छ भन्ने मान्यता राख्ने भण्डारीले नागरिकको बहुदलीय जनवादको विकास गर्नुभएको उहाँले बताउनुभयो । उहाँले कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन भण्डारीका आदर्शका कुराहरु सिक्नुपर्ने बताउनुभयो । नेकपा एमालेको नीति र सिद्धान्तका कुनै ज्ञान नभएकाले नेतृत्व गर्दा अहिले पार्टीमा केही समस्या आएको उहाँले बताउनुभयो । पार्टीमा पछि जोडिन आएका समुहरुलाई पार्टीको नीति, सिद्धान्तबारे बुझाउन आवश्यक रहेको उहाँको भनाई छ ।
यस्तै, पार्टीका केन्द्रीय सदस्य रामेश्वर रानाले मदन भण्डारीलाई सबै दलले जननेताका रुपमा चिन्ने गरेको बताउनुभयो । मदन भण्डारीको विचार र सिद्धान्तका कारण एमाले अहिले यो अवस्थामा रहेको उहाँले बताउनुभयो । उहाँले पार्टीका नेता कार्यकर्ताहरुलाई पार्टीभित्र मौनता नभई खुलेर प्रतिवाद गर्न सक्नुपर्ने बताउनुभएको छ । नेकपा एमाले मकवानपुरका अध्यक्ष एका लाल श्रेष्ठको सभाध्यक्ष तथा पार्टीका वरिष्ठ नेता मुकुन्द न्यौपानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पार्टीका प्रदेश सदस्यहरु रघुनाथ खुलाल, कमल विष्ट, रामचन्द्र अर्याल र अर्जुन लगायतको उपस्थिति रहेको थियो ।