पछिल्लो समय सामुदायिक विद्यालयको शिक्षामा सुधार ल्याउन चासो र चिन्ता बढ्दै गएको छ । विद्यालय तहको शिक्षा व्यवस्थापनको अधिकार स्थानीय तहमा आएपछि शिक्षाको विकासमा चासो र चिन्ता बढेको हो । अन्य समयमा भन्दा विद्यालय भर्नाको समयमा र एसईई नतिजा सार्वजनिक भएपछि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि बढिजसो चर्चा र बहस हुने गर्दछ । नयाँ शैक्षिक सत्र सुरु भएको करिब एक महिना हुन लागेको छ । विद्यालयहरुमा विद्यार्थी भर्ना अभियान चलिरहेको छ । सामुदायिक विद्यालयको शैक्षिक अवस्था कमजोर बन्दै गएको र विद्यार्थी संख्या घट्दै गएकोमा सबै क्षेत्रले चिन्ता र चासो बढेको छ । सामुदायिक विद्यालयको शैक्षिक सुधारमा प्रभावकारी ठोस कार्यक्रम भने बिरलै आउने गरेको छ । माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहमा आएपनि सबै स्थानीय तहले प्रभावकारी काम गर्न सकेका छैनन् ।

कक्षा १२ सम्मको विद्यालयको व्यवस्थापन र शैक्षिक सुधारको जिम्मा गाउँ तथा नगरपालिकामा आएको छ । संघीय शिक्षा ऐन नबन्दा स्थानीय तहले विद्यालय शिक्षा सुधारका लागि उल्लेख्य काम गर्न सकिएको छैन । केही पालिकाहरुले भने शिक्षाको विकासका लागि विभिन्न रचनात्मक र प्रभावकारी काम सुरु गरेका छन् । देशकै राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयको सुधारका लागि विविध कार्यक्रम गरिरहेको छ । पछिल्लो समय काठमाडौं महानगरले सामुदायिक विद्यालयहरुमा शिक्षामा सीप कार्यक्रम अघि बढाएको छ । सोही कार्यक्रमको केही दिनअघि महानगर प्रमुख बालेन्द्र साह (बालेन)ले अनुगमन गरेका थिए । महानगरले उच्च प्राथमिकता दिएर विद्यालय तहबाटै विद्यार्थीलाई विभिन्न सीपमूलक तालिम प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिरहेको छ । विद्यालय तह उत्तीर्ण गरेका विद्यार्थीमा कम्तिमा एउटा विषयगत सीपको विकास भएमा उक्त विद्यार्थी स्वरोजगार बन्न वा सहज रोजगारी प्राप्त गर्न सक्ने तथ्यलाई मनन गर्दै महानगरले उक्त कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । काठमाडौं महानगरको यस कार्यक्रमलाई अन्य स्थानीय तहले पनि अनुसरण गर्न सकेमा विद्यार्थीमा सैद्धान्तिक शिक्षासँगै प्राविधिक सीप विकास गराउन निकै सहयोग पुग्ने विश्वास गर्न सकिन्छ ।

काठमाडौं महानगरभित्रका ५९ माध्यमिक विद्यालयमा हप्ताको एक दिन २ घण्टाको दरले तालिम दिन थालिएको छ । यस तालिमलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रबाट ६ महिने तालिमको मान्यता प्रदान गर्ने तयारी महानगरको छ । वर्ष कक्षा ९ का विद्यार्थीका लागि १० वटा सीपमूलक तालिम छनोट गरिएकोमा केही विद्यालयमा केही विषयको तालिम सुरु भएको हो । हाउस वेल्डिङ, ब्युटिसियन, फेसन डिजनाइजर, सावरीसाधन मर्मत, मोबाइल रिपेयरिङ, डल तथा कुसन मेकिङ, टेलरिङ, प्लम्बिङ, इलेक्ट्रिकल एपेयरेन्स र फर्निचर विषयका तालिम छनौट गरिएको हो । हप्ताको एक दिन नियमित कक्षा सकिएपछि २ घण्टाको समयमा तालिम दिइँदै आएको छ ।

काठमाडौं महानगरले विद्यालय शिक्षाको सुधारका लागि धेरै कामको सुरुवात गरेको छ । विद्यालयमा किताब, स्टेशनरी तथा पोशाक बिक्री गर्न रोक लगाउने र राजनीतिक दलहरुलाई विद्यालयमा कार्यक्रम गर्न रोक लगाउने घोषणा महानगरले गरेको छ । प्रत्येक शुक्रबार किताबविहीन स्कूलको अवधारणा महानगरले अघि सारेको छ । महानगर क्षेत्रका निजी विद्यालयहरुको नाम तथा अन्य पक्षमा नियमन गर्न आवश्यक कानुनी व्यवस्था गर्न लागिएको छ । विद्यालय शिक्षाको सम्पूर्ण दायित्व स्थानीय तहमा आएपछि शिक्षाको विकासमा स्थानीय तहबीच प्रतिस्पर्धा हुनु आवश्यक छ । प्रत्येक स्थानीय तहले सबै विद्यार्थीलाई समान र गुणस्तरीय शिक्षा प्रदान गर्न विशेष ध्यान दिनु उचित हुनेछ । संघ र प्रदेशबाट समेत आवश्यक स्रोत साधन लिएर स्थानीय तहले विद्यालय शिक्षाको सुधार र विकासका लागि आवश्यक काम गर्न सक्छ । संस्थागत विद्यालयको प्रभावकारी नियमन गर्दै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र शिक्षासम्बन्धी नयाँ–नयाँ कार्यक्रम सञ्चालनमा स्थानीय तहहरुले धेरै काम गर्नु आवश्यक छ ।