कृतिमाथि चर्चा गर्नुहुँदै साहित्यकार रमेशमोहन अधिकारी ।

हेटौँडाः झरना साहित्यिक परिवार मकवानपुरको आयोजनामा शनिबार साहित्य सङ्गम मकवानपुरमा कृति विमर्श कार्यक्रम भएको छ । २८ औँ साहित्य शृङ्खलाको अवसरमा गोपाल सन्जेलकृत उपन्यास ‘समय रेखामा आमोइ’ को विमर्श कार्यक्रम भएको हो ।

कार्यक्रममा उपन्यास ‘समय रेखामा आमोइ’ माथि रमेश मोहन अधिकारी र घनश्याम घिमिरेले समीक्षा गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि मकवानपुर जिल्ला अदालतका न्यायाधीश श्रीप्रसाद सन्जेल हुनुहुन्थ्यो भने विभिन्न व्यक्तित्वहरुको विशेष उपस्थिति रहेको थियो । समीक्षक रमेश मोहन अधिकारीले उपन्यास आमोइ पात्रको समय रेखाको बारेमा र पहिला समयको दुखको विषय समावेश रहेको बताउनुभयो । उखान टुक्काको प्रयोग समेत कृतिमा रहेको अधिकारीले समिक्षा गर्नुभएको थियो ।

समिक्षक घनश्याम घिमिरेले उपन्यासमा आमोई उपन्यास चार पुस्ताको विषय प्रसंगमा जोडिएको बताउनु भयो । अन्तिममा सुधारात्मक पक्ष जोड्दै समिक्षा गर्नुभएका घिमिरेले आगामी दिनमा लेखकले आफ्ना कमजोरीलाई सुधारेर अझ सशक्त लेखन गर्न सक्ने घिमिरेको भनाइ थियो । लेखक गोपाल सन्जेलले आफ्नो दोस्रो कृतिमाथि विमर्शका क्रममा औँल्याइएका कमिकमजोरीलाई आगामी दिनमा सुधार गरिने बताउनुभएको छ । यो सन्जेलको दोस्रो कृति हो । कार्यक्रम झरना साहित्यिक परिवारका अध्यक्ष विश्वनाथ सञ्जेलको अध्यक्षतामा भएको हो ।