हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघको पश्चिम क्षेत्र समितिको सभापतिमा गणेशमान मानन्धर निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न १२ औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनबाट मानन्धरलाई सर्वसम्मत सभापति चयन गरेको हो । यसअघि मानन्धर वरिष्ठ उपसभापति हुनुहुन्थ्यो ।
समितिको वरिष्ठ उपसभापतिमा रामचन्द्र उप्रेती चयन हुनुभएको छ । यसअघि उप्रेती उपसभापति हुनुहुन्थ्यो । यस्तै यसअघि कोषाध्यक्ष रहनुभएका जलालदिन मियाँ उपसभापतिमा सर्वसम्मत चयन हुनुभएको छ । निवर्तमान सभापति स्वतः कार्यसमिति सदस्य हुने प्रावधान रहेको मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिको २३ सदस्यीय कार्यसमितिमा १९ जना सदस्य चयन भएका छन् । सदस्यमध्येबाट कोषाध्यक्ष र सचिव पछि चयन गर्ने सहमति भएको सभापति मानन्धरले जानकारी दिनुभएको छ ।
निवर्तमान सभापति नारायण सुवेदीको अध्यक्षता तथा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्य कृष्ण कटुवाल, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालको पनि आतिथ्य रहेको थियो । पश्चिम क्षेत्र समितिमा ४ सय ९६ जना व्यवसायी सदस्य छन् । मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिको आव्हानमा हरेक महिनाको १ गते र १५ गते मनहरी बजार बन्द रहन्छ ।