हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको ४ नम्बर वडा शैक्षिक सुधार समितिले प्राथमिक तहका शिक्षकका लागि एकीकृत पाठ्यक्रमसम्बन्धी प्रवोधिकरण कार्यक्रमको आयोजना गरेको छ । शनिबार एकदिनका लागि आयोजना गरिएको कार्यक्रममा ४ नम्बर वडाका ८ वटा विद्यालयका ५० भन्दा बढी शिक्षकको सहभागिता रहेको छ ।
४ नम्बर वडामा ३ वटा सामुदायिक र ५ वटा संस्थागत विद्यालय छन् । प्राथमिक तहमा नेपाली, अंग्रेजी, सेरोफेरो, विज्ञान र गणित विषयको एकीकृत पठनपाठन प्रभावकारी रहने भएकोले शिक्षकलाई नै प्रशिक्षित गर्न खोजिएको हो । वडा शैक्षिक सुधार समितिका अध्यक्ष एवम् श्रमिक माविका प्रधानाध्यापक श्रीराम दाहालको अध्यक्षता तथा वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको थियो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै वडा अध्यक्ष सिग्देलले वडालाई उत्कृष्ट बनाउन वडाको शिक्षालाई उत्कृष्ट बनाउन आवश्यक ठानेर वडाले शैक्षिक सुधारको अभियान नै सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले समयानुकुल शिक्षा प्रदान गर्न आवश्यक रहेको औँल्याउनुहुँदै वडाले शिक्षकको क्षमता विकासका साथै शैक्षिक सामग्री निर्माण, प्रदर्शनी र प्रतिस्पर्धाका क्रियाकलाप गरिरहेको र आगामी दिनमा अझ प्रभावकारी र पर्याप्त स्रोतसाधनको प्रयोग हुने गरी योजना बनाइने स्पष्ट पार्नुभयो ।
एकीकृत पाठ्यक्रमसम्बन्धी प्रवोधिकरणमा नेपाली विषयको वेदराज कोइरालाले, सेरोफेरो विषयको राम सागर गुरागाईले, अंग्रेजी विषयको सूर्यप्रसाद घिमिरे, गणित विषयको दीपक अधिकारीले र विज्ञान विषयको सुवास खनालले सहजीकरण गर्नुहुनेछ । उद्घाटन कार्यक्रममा वडा सचिव टिकप्रसाद कँडेलको पनि उपस्थिति रहेको थियो ।
