आज मंगलबारबाट कक्षा १२ को वार्षिक परीक्षा सुरु भएको छ । आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयमा ५ हजार ६ सय ११ जना विद्यार्थीले परीक्षा दिएका छन् । परीक्षा फारम भरेका ४६ जना विद्यार्थी परीक्षामा अनुपस्थित रहेको राष्ट्रिय परीक्षा बोर्डको हेटौंडास्थित कार्यालयले जनाएको छ । हरेक दिन बिहान ८ बजेबाट सुरु हुने परीक्षा जेठ ५ गतेसम्म सञ्चालन हुनेछ । मकवानपुर जिल्लाका ४९ वटा शैक्षिक संस्थाका विद्यार्थीले कक्षा १२ को परीक्षा दिँदैछन् ।
राष्ट्रिय परीक्षा बोर्डले मकवानपुर जिल्लाका लागि १५ वटा परीक्षा केन्द्र निर्धारण गरेको छ । यसअघि १२ वटा मात्रै परीक्षा केन्द्र कायम गरिएकोमा यसपटक ३ वटा परीक्षा केन्द्र थप गरिएको राष्ट्रिय परीक्षा बोर्डको हेटौंडास्थित कार्यालयका प्रमुख कृष्णप्रसाद घिमिरेले जानकारी दिनुभएको छ । यसपटक हेटौंडा–४ स्थित श्रमिक मावि, हेटौंडा–१० स्थित तुल्सीमेहर मेमोरियल मावि र बकैया गाउँपालिकास्थित महेन्द्र माविमा परीक्षा केन्द्र थप गरिएको छ । कक्षा १२ का एकजना विद्यार्थीले भीमफेदी कारागारबाट परीक्षा दिनेछन् ।












