हेटौंडाः राष्ट्रिय परीक्षा बोर्डले आज मंगलबारबाट कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन गर्दैछ । हरेक दिन बिहान ८ बजेबाट सुरु हुने परीक्षा जेठ ५ गतेसम्म सञ्चालन हुनेछ । मकवानपुर जिल्लामा नियमिततर्फ ५ हजार ६ सय ६० र आंशिकतर्फ १ हजार ५ सय ९० जना विद्यार्थीले परीक्षा फारम भरेका छन् ।

मकवानपुर जिल्लाका ४९ वटा शैक्षिक संस्थाका विद्यार्थीले कक्षा १२ को परीक्षा दिँदैछन् । राष्ट्रिय परीक्षा बोर्डले मकवानपुर जिल्लाका लागि १५ वटा परीक्षा केन्द्र निर्धारण गरेको छ । यसअघि १२ वटा मात्रै परीक्षा केन्द्र कायम गरिएकोमा यसपटक ३ वटा परीक्षा केन्द्र थप गरिएको राष्ट्रिय परीक्षा बोर्डको हेटौंडास्थित कार्यालयका प्रमुख कृष्णप्रसाद घिमिरेले जानकारी दिनुभएको छ । यसपटक हेटौंडा–४ स्थित श्रमिक मावि, हेटौंडा–१० स्थित तुल्सीमेहर मेमोरियल मावि र बकैया गाउँपालिकास्थित महेन्द्र माविमा परीक्षा केन्द्र थप गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले हेटौंडा–२ स्थित सिद्धार्थ मावि र मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय मावि, हेटौंडा क्याम्पस, भुटनदेवी मावि र श्रमिक मावि, हेटौंडा–५ स्थित बालज्योति मावि, हेटौंडा–६ स्थित बंशगोपाल मावि, हेटौंडा–९ स्थित प्रगति मावि, हेटौंडा–१० स्थित ज्ञानदा मावि र तुलसी मेहर मेमोरियल मावि, हेटौंडा–११ स्थित त्रिभुवन मावि, हेटौंडा–१९ स्थित निर्मल मावि, बकैयास्थित महेन्द्र मावि, थाहा नगरपालिकास्थित पालुङ बहुमुखी क्याम्पसमा परीक्षा केन्द्र तोकिएको छ । परीक्षा शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न सबै तयारी पूरा भएको पनि बोर्डका प्रमुख घिमिरेले बताउनुभएको छ ।

कक्षा १२ का एकजना विद्यार्थीले भीमफेदी कारागारबाट परीक्षा दिनेछन् । गत वर्ष कक्षा ११ मा अध्ययन गर्ने क्रममा रजिष्ट्रेशन फारम भरेका ६ हजार ३ सय ४ जना विद्यार्थी मध्ये यो वर्ष कक्षा १२ को परीक्षा फारम भर्ने विद्यार्थीको संख्या ५ हजार ६ सय ६० रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । कक्षा–११ मा भर्ना भएका मध्ये ६ सय ४४ जना विद्यार्थीले कक्षा १२ को परीक्षा फारम भरेका छैनन् । परीक्षा फारम भरेका मध्ये पनि केही विद्यार्थी परीक्षामा अनुपस्थित हुने अवस्था रहन्छ ।

गत वर्ष कक्षा १२ को परीक्षा दिने विद्यार्थीको संख्या भने केही कम थियो । गत वर्ष कक्षा १२ मा नियमिततर्फ ५ हजार २ सय ६६ जनाले परीक्षा दिएका थिए भने यो वर्ष ५ हजार ६ सय ६० जनाले परीक्षा फारम भरेका छन् । हेटौंडास्थित राष्ट्रिय परीक्षा बोर्डको कार्यक्षेत्र मकवानपुरसँगै चितवन, बारा, पर्सा र रौहतट जिल्ला पनि हो । ५ जिल्लामध्ये सबैभन्दा बढी चितवन जिल्लामा नियमिततर्फ ११ हजार ९ सय ७० जना र आंशिकतर्फ २ हजार ५ सय ७ जना विद्यार्थीले परीक्षा फारम भरेका छन् । पर्सामा नियमिततर्फ ७ हजार ३ सय ७३ जना र आंशिकतर्फ १ हजार ५ सय ८४ जना, रौतहटमा नियमितर्फ ५ हजार ८ सय २३ जना र आंशिकतर्फ ६ सय ८९ जना, बारा जिल्लामा नियमिततर्फ ४ हजार ६ सय २४ जना र आंशिकतर्फ १ हजार ८९ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।