पुरानो उखानलाई परिमार्जित गर्दै “ज्योतिषीका मुखमा माड, बैद्यका घाँटीमा गलगाँड” भन्दा सान्दर्भिक हुने हो कि जस्तो लाग्दछ।जे होस उखानको बखान आफ्नै ठाउँ छ तर चुसुक्क केही भयो कि लुसुक्क द्रव्यदान र जोखना हेर्ने सामान बोकेर ज्योतिषीकोमा जाने चलन जलन भएको छैन।यसको लोकप्रियता बढ्दो छ, सबैको मनमा गढ्दो छ।
कर्म गर्न सर्म मान्ने तर ज्योतिषीकोमा गएर आफ्नो मर्म फुकाउनेहरु बग्रेल्ती भएपछि एउटा बिंगा लगाएर आफ्नो पेशा चलाउनु ज्योतिषीको पनि के अग्रेल्ती? जसरी बिरामी परेर अस्पताल जाँदा डाक्टरले के हुन्छ भनेर सोधेपछि मधौरुले मलिन स्वरमा सबै दर्द दौडाए झै बाठा ज्योतिषीले अझ यसो हाउभाउ हेरेर चुरो कुरो पहिल्यै पत्ता लगाउने चर्तिकला झन् चालपाई नसक्नु छ।
हुन त ज्योतिषीहरुको जगजगी बेलाबेलामा सनसनीपूर्ण रुपमा सल्बलाउने र शासन सत्ता नै खल्वलाउने सम्मका गर्जन गुन्जायमान नभएका होइनन्। राजाको रजाई फर्किने र नेताका कजाई कर्किनेसम्मका भविष्यवाणीहरु चर्चाको चुलीमा पुग्ने गरेका सन्दर्भहरु बेलाबखत कर्णको कानेगुजीसम्म हाउगुजी बनेर ठोक्किनेक्रम चलेकै हुन्। हाल कोरोनाले थिचेको, छिमेकीले साँध मिचेको, औषधीको सामानमासमेत कमिशन घिचेको कुरामा ज्योतिषवाणीहरु बज्रिने वा कुनै उपाय निकालेर गर्ज्रिनेहुन होइन त्यो भनेहेर्न बाँकी छ ।
ज्योतिषीकोमा धाउन जटिलताले घेर्न र ठूलो समस्याले बेर्नपर्ने होइन। सानै समस्याले सतायो वा अतायो भनेपनि जोतिषिकोमा दौडिने र उनैले बताएको रोडम्यापमा पौडिनेहरु प्रशस्तै छन्।
अघिपछि पुस्तक नफुकाउने, र्याकभित्रै लुकाउने, धमिराले काटे वा मुसोमुन्द्रीले चाटे घाममा सुकाउने अनि परीक्षामा पासको आस राखेर जाने कहाँ ? ज्योतिषीकोमा। बच्चा गर्भमा आउने नआउने, छोरा वा छोरी के पाउने ? जुराउन जाने कहाँ ? ज्योतिषीकोमा। अन्नपात कुहिए, पशुहरु तुहिए, छिमेकीका छोराले छोरी बोके, बिग्रेको कुत्ताले खुट्टा टोके जाने कहाँ ? ज्योतिषीकोमा। श्रीमान श्रीमतीको झगडा परे, कसैले आँखा तरे, हिँड्दा ठेस लागे, बैरीहरु बेस्करी जागे उपचार खोज्न जाने कहाँ ? ज्योतिषीकोमा। विदेश जान जुर्छ कि जुर्दैन, फर्कि नआउन्जेल प्रेयशीले कुर्छ कि कुर्दैन, पैसा कसरी कमाउने, खुशीले कसरी रमाउने बुझ्न जाने कहाँ ? ज्योतिषीकोमा।
ब्यापार घाटा ओरालो लागे, आफ्ना ग्राहक अन्यत्र भागे जाने कहाँ ? ज्योतिषीकोमा। राजनीतिमा रडाको मच्चिए, सधै कार्यकर्ताकै तहमा थच्चिए, चुनावमा टिकट पाउन विकट भए, ढुकुटी अरुले मात्र खाए, आफूले भनेजस्तो पद नपाए जाने कहाँ ? ज्योतिषीकोमा। यसरी केही अप्ठ्यारो पर्योकि ज्योतिषीकहाँ गएर बिलौना गर्यो, तुरुन्तै सामाधानको उपाय निस्किने भएपछि किन झोक्राएर बस्ने? ल हेर्नोस त ज्योतिषीको ज्योतिष।
केही पहिलेको कुरो हो- हिजो आजको जस्तो सस्तो, जताततै विद्युतीय माध्यमबाट बिज्ञापन गर्दै ब्यवसाय सन्चालन गरेर बसेका ज्योतिषीहरु पाइदैन थियो। सानोतिनो कुरामा बिन्तिभाउ पनि लाइदैन थियो। तथापि कुनै समस्या आइपरे ज्योतिषीकोमा गएर गुनासो गर्ने र उनले बताएअनुसार ग्रहदशा टर्नेसम्मका सामान्य कर्मगर्ने चलन भएपनि ज्योतिषी पाउन धेरै धाउन पर्थ्यो।
आफूलाई पनि केही समस्याले सताएको र मनमा अताएको हुँदा एकदिन ज्योतिषीको खोजीमा निस्किएँ। स्याउली बजारको सडकछेउमा टुक्रुक्क रहेको एउटा सानो घुम्तिमा मेरो आँखा पर्यो, सोचे अब समस्याको गाठो टर्यो।उक्त घुम्ति घरमा लेखिएको थियो-“यहाँ धुलौटो केरिन्छ भूत, भविष्य र बर्तमान हेरिन्छ।”
बाजे बाहिर जानु भएको रहेछ- एउटा झोला भिरेर आउनु भो, ढोका खोल्नु भो र मसंग मिठो स्वरमा बोल्नु भो-“तपाई के हेराउन आउनु भएको?”मैले बाजेलाई भएभरको बिन्ति लाएँ, लगेको फलफूल, भेटी, चढाएँ र आफ्नो हात अगाडि बढाएँ।बाजे मेरो हातको रेखा हेर्दै, धुलौटो कोर्दै ज्योतिषबाणी बजार्न थाल्नुभयो-
बाजे- तपाईले सापट दिएको पैसा हत्तपत्त फर्केर आउँदैन, माग्दा उल्टै झापट खाएइला जस्तो हुन्छ, हो कि होइन ?
म- हो हजुर, अस्ती एउटाले त्यस्तै गर्यो।
बाजे- सानामा धेरै दुःख पाउनु भो, संघर्ष गरेर नै यो अवस्थामा आउनु भो, तपाई असाध्यै मिहेनती र सहयोगी स्वभावको हुनुहुन्छ, हो कि होइन ?
म- हो हजुर,सानामा गरेको दुःख संझिदा अहिले आङ्ग नै जिरङ्ग हुन्छ।अरुको विपत टुलुटुलु हेर्न मनले मान्दैन,आफूलाई पर्दा सहयोग गर्न कसैले जान्दैन।दुनियाँ यस्तै छ हजुर।
बाजे- तपाईको अहिले आर्थिक अवस्था कमजोर छ, आम्दानी भन्दा खर्च धेरै छ, आफ्ना भन्नेहरुबाट नै तपाई पीडामा हुनुहुन्छ, राम्रै बोले पनि अरुले नराम्रो सुन्छन, तपाईसंग दुश्मनी हुन्छन्, हो कि होइन ?
म- हो हजुर, ठ्याक्कै मिल्यो।
बाजे- श्रीमतीले तपाईको पीडा जान्दिनन्, भनेको मान्दिनन्, ठाकठुक परिरहन्छ, हो कि होइन ?
म- हो हजुर, मैले मुख खोल्नै हुँदैन, राम्रो कुरा पनि बोल्नै हुँदैन,जिती हाल्छिन।
बाजे- तपाईलाई पेट र टाउको दुख्ने समस्या रहेछ।मन छटपटिएको छ, के गरौं, कसो गरौं भइरहन्छ। तपाईले गरेको कुनै पनि काम राम्रोसंग सफल भएको छैन, हो कि होइन?
म- सोह्रै आना हो हजुर, त्यसै भएर हजुरलाई बिन्ति बिसाउन आ’को ।
बाजेले ल, कूल देवताको मन रोएको छ,साढे सातको शनिले छोएको छ,राहुको मान गर्नु पर्छ, तपाईले यो यो…चिज दान गर्नु पर्छ भनेर भएको झारझुर पार्नु भो र मलाई टार्नु भो ।
फर्किदा ज्योतिषी बाजेको कुरा सुनेर मनमनै मुस्कुराए।शायद मैले भनेका कुराबाट उनले केही छनक पाए या मेरो अनुहारमा देखिएको दर्दको आधारमा दनक लाए, भएका सबै मिलाए।घर पुगेपछि फुर्सतमा यसो बिचार गरेको- उनले भनेका कुराहरु मलाई मात्र होइन प्राय:सबैलाई मिल्ने होलसेल शास्त्र जस्तो पो लाग्यो।
सार्वजिनक सडकको पेटिमा पलेटी कसेर बस्ने, यहाँ ज्योतिष हेरिन्छ भनेर अरुको भविष्य बनाउन कम्मर कस्ने,सोझासाझा बटुवाहरु त्यहिँ आएर फँस्ने र तिनैलाई डस्ने ज्योतिषीहरु पनि कम छैनन्।अरुको भविष्य हेर्नेहरु, धुलौटोमा नानाथरी कोर्नेहरु आफ्नो भविष्यको रेखा चाहिँ कस्तो छ भनेर कहिले हेर्लान्? जे होस सबैले उनीहरुलाई मानेकै छन्, ज्योतिषीजीहरुले पनि जसोतसो आफ्नो जीवन धानेकै छन्।यसो विचार गर्दा-“अकूत कमाएर साँच्नु भन्दा सरल जीवन बाँच्नु नै सुखको सार हो भन्ने बुझेर नै भविष्यका दृष्टिकर्ताहरुले आफ्नो सृष्टिलाई यसैगरी धानेका हुन कि ?” भन्ने जस्तो पनि लाग्छ।
अर्को एउटा कहानी-एकदिन हाम्रो घरमै अलख निरञ्जन लगाउँदै एकजना लट्टे बाबा आउनु भयो।आमाले भिक्षा लगेर दिनुभयो।बाबाले आमाको अनुहार हेर्दै-“आमा तपाईको उत्तरार्धको अवस्था आइसकेको छ।पेटका पाटपुर्जा सबै खाइसकेको छ।आयु घोटिंदैछ, दिन छोटिंदैछ।पृथ्वीमा हिंड्ने फट्को छोटो छ, यो बर्ष ठूलो खड्को छ, दान गर्नोस्, मन्दिर जानोस्, मनलागेको खानोस, पूजापाठ लगाउनोस, ग्रहदशा भगाउनोस् “भनेर गए ।
त्यसदिनदेखि आमा निदाउरो हुने,अनुहारमा चमक नदेखिने र पेट दुख्यो भनेर सुर्ताउने गर्न थाल्नुभयो।आमाको मुटुको रोग पहिलादेखिनै थियो, बाबाले पेटका पाटपुर्जा समेत चेट हुँदै गएको भनेपछि पेटको रोग पनि थपियो।
आमाको इच्छाअनुसार विभिन्न विधामा विज्ञापित भएर बसेका वैदिक,आयुर्वेदिक र लट्टेबाबा जस्ता सक्रियबहुरुपी बाबाहरुकोमा धाइयो,बिन्तिभाउ लाइयो, द्रब्यदान राम्रैसंग चढाइयो। कालान्तरमा उनीहरुले समेत-“अब आमाको उपचार हुँदैन, औषधिमूलोले पनि छुँदैन, मन लागेको ठाउँमा जान दिनु, इच्छा गरेको खान दिनु, असली कुरा ढाँट्नु हुन्न, आमाले वर्ष दिन काट्नु हुन्न ” भनेर बडो निराशाजन जवाफ दिए।
समस्या जटिल पर्यो, यिनै कुराले मेरो दिमागमा बास गर्यो।अब के गर्ने होला,आमाको मैलिएको मनलाई कस्ले धोला भनेर आफैलाई सोला हान्न थाल्यो, त्यसैबेला झल्यास भोला काकाको याद आयो।आफ्नै कूलबंशका असाध्यै जान्ने, सबैले मान्ने उनै काकासमक्ष धाएँ र बिन्ति बिसाएँ- “काका!म नभएको बेलामा घरमा गएर आमालाई केही हुँदैन,कुनै रोगले पनि छुँदैनभनेर हौसला जगाई दिनुपर्यो,आमाको नैराश्यता भगाई दिनु पर्यो।”
म माझीघरे माइलाबाको मेलामा गएको बेलामा काका हाम्रो घरमा गएर पात्रो पल्टाएर जोखना हेरे झैं गरी-“भाउजू, तपाईको ग्रहदशा बलियो छ, आयुको पूरै खलियो छ, धेरै वर्ष यो संसारमा नाच्नु हुन्छ,अझ कैयौं वर्ष बाच्नु हुन्छ” भनेर बताई दिनु भएछ।
बेलुका मेलाबाट घरफर्केर आउँदा- “ती ब्यवसायी बाबाहरुले भनेर हुन्छ ? पल्लो घरको बाबुले आज छर्लङ्ग हुने गरी सबै कुरा बताई दिनुभयो” भन्दै आमाको फूर्तिफार्ती नै बेग्लै देखियो।यसो सोचे काकाले राम्रैसंग कानभरेर जानुभएछ।आफूलाई असाध्यै खुसीलाग्यो तर, त्यत्रा त्रिकालदर्शी ज्योतिषीबाबाहरुले भनेको कुरा कसरी झुट्ठो होला? भन्दै दिन गन्दै रहें ।
ज्योतिषीबाबाहरुले तोकिदिएको समयको सार सकिएपनि आमाको प्यार हामीबाट पार भएन।काकासंगको भेटपछि आमाले पेट दुख्यो भन्नपनि छोड्नु भयो ।शरीर झन् सक्रियतातिर मोड्नु भयो।त्रिकालदर्शी बाबाहरुले रहनुहुन्न भनेको मितिबाट आमा झण्डै १५ वर्ष अरु बाँच्नुभयो।
यसरी ज्योतिषीजीहरुको ज्योतिभन्दापनि आत्माविश्वास ठूलो ओखतिरहेछ भन्ने कुरामा म चाहीं निश्चिन्त भएँ। इति