हेटौंडाः शुक्रबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा सेवाग्राहीको उपस्थिति न्यून रहेको छ । सार्वजनिक विदाको दिन अत्यावश्यक सेवा दिने सरकारी कार्यालय सुचारु गर्ने संघीय सरकारको निर्णयबमोजिम खुला भएको जिल्ला प्रशासनमा सेवाग्राहीको उपस्थिति न्यून रहेको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट शुक्रबार २ जनाले नयाँ नागरिकता लिएका छन् । यस्तै, ३ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । १० जनाले राष्ट्रिय परिचयपत्र बनाएको र ३२ जनाले राहदानी लिएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो ।
२५७६ औं बुद्व जयन्तीको अवसरमा शुक्रबार सार्वजनिक विदा भए पनि संघीय सरकारको गत चैत २ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार सार्वजनिक विदामा जिल्ला प्रशासन कार्यालय खुला गरिएको थियो । सार्वजनिक विदाको दिन भएकाले सेवाग्राहीको उपस्थिति न्यून रहेको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभयो । सरकारले सार्वजनिक विदामा कार्यालय खुलाउने भने तापनि सबैमा सूचना नपुगेको हुनसक्ने शर्माको भनाई छ ।
नेपाल सरकारले उभौली पर्व/चण्डी पूर्णिमा/वैशाख पूर्णिमा/बुद्ध जयन्ती, गणतन्त्र दिवस, रक्षा बन्धन, श्रीकृष्ण जन्माष्टमी, घटस्थापना, क्रिसमस डे, उधौली पर्व/धान्य पूर्णिमा/योमरी पुन्ही, तमू ल्होसार, पृथ्वी जयन्ती/राष्ट्रिय एकता दिवस, माघी पर्व/माघे सक्रान्ती, जनयुद्ध दिवस, राष्ट्रिय प्रजातन्त्र दिवस, महाशिवरात्री, अन्तराष्ट्रिय महिला दिवस, ग्याल्पो ल्होसार, इद उल फित्र, बकर इद गरी १६ दिन हुने सरकारी बिदाका दिनमा पनि जिल्ला प्रशासन कार्यालय खुल्ने निर्णय कार्यान्वयन गर्ने भएको हो । सरकारले कर्मचारीलाई सट्टा बिदाको व्यवस्था गरेर काम गर्न लगाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो ।