प्रतिनिधिसभा उपनिर्वाचन, बैशाख १०, २०८० को परिणामले नेपालको राजनीतिमा प्रस्ट संकेत देखा परेको छ । नेपाली कांग्रेस त्यागेर उपचुनाव को मुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका स्वर्णिम वाग्ले तनहुँमा र रास्वपाका अध्यक्ष रवि लामिछाने चितवनमा दोस्रो पटक उही ठाउँबाट नेपाली कांग्रेसका प्रतिनिधि भन्दा भारी मतान्तरणले विजयी भएका छन् । बारामा गठबन्धनको समर्थनमा जसपाका अध्यक्ष उपेन्द्र यादव विजयी भए पनि दोस्रो मत पाएका जनमत पार्टीका शिवचन्द्र कुशवाहले राम्रो टक्कर दिएका छन् ।
चितवन र तनहुँमा विशेषगरी कांग्रेस र गठबन्धन दोस्रो स्थानमा छ भने नेपालको ठूलो कम्युनिस्ट पार्टी र गएको प्रतिनिधि सभामा समानुपातिकतर्फ सबैभन्दा ठूलो पार्टी एमाले तीन वटै क्षेत्रमा तेस्रो स्थानमा खुम्चिएको छ । यो परिदृश्य नै नेपालको आगामी राजनीतिको यात्राको संकेत हो भन्न सकिन्छ । तनहुँको निर्वाचन परिणामले कांग्रेसमा पहिरो जान सक्ने सम्भावना छ भने बाँकीको परिणामले ठूला पार्टीहरुलाई निर्ममतापूर्वक आत्मसमीक्षा गर्न बाध्य पार्न सक्छ । तनहुँमा गोविन्द भट्टराई जस्ता स्थानीय र जनताले पनि मन पराएका व्यक्तिको ठाउँमा कांग्रेसबाट अलग्गिएका र बाहिरका व्यक्ति स्वर्णिम वाग्लेले चुनाब जित्नुको अर्थ कांग्रेस नेतृत्व, विशेषगरी देउबा–आरजूप्रति युवा पुस्ता र आम जनताले पनि चरम असन्तुष्टी व्यक्त गर्नु हो । जनताले राम्रो व्यक्ति मात्रै भएर मत दिएनन् । उनीहरुले पार्टी नेतृत्वप्रति पनि उत्तिकै बिरोधि भावना मतद्वारा व्यक्त गरे ।
चितवनमा रवि लामिछाने पछिल्लो चुनाब भन्दा बढी मतान्तरले विजयी हुनुको अर्थ जनताले सुशासन र भ्रष्टाचारको रास्वपाको नारालाई अझ बढी समर्थन गरेको देखिन्छ । ठूला पार्टी नेतृत्वप्रति वितृष्णा स्पष्ट देखिन्छ । बारामा उपेन्द्र यादवको जित उहाँका लागि ठूलो अग्नि परीक्षा थियो, हार्नु परेको भए मधेश आन्दोलनको एउटा हस्तीको राजनीतिक भविष्य नै अनिश्चित हुन सक्थ्यो । तर, बाराको परिणामले मधेशमा जनमत पार्टीको सुखद् यात्रा र नयाँ शक्तिको उदय भएको देख्न सकिन्छ । यो परिणामका केहि संकेतहरु आंकलन गर्न सकिन्छ ।
१) ठूला राजनीतिक दलहरुले आगामी निर्वाचनमा राम्रा छवि भएका उम्मेदवार उठाए पनि विजय अनिश्चित हुन् सक्छ ।
२ राजनैतिक एजेन्डा र कार्यक्रमको खाका पनि प्रस्ट नभएको, पपुलिस्ट नारामा अडेको तथा ठूला राजनीतिक दलहरुप्रति चरम वितृष्णा व्यक्त गरेको रास्वपा जस्तो पार्टीको उदय दक्षिणपन्थी बाटोमा जाने सम्भावना उत्तिकै छ । राप्रपा जस्तो पार्टीसँग सहकार्य हुन सक्छ । २०७२ सालको संविधान माथि प्रहार हुन सक्छ ।
३) रास्वपा र जनमत पार्टीका नेताहरु अग्नि परीक्षामा छन् । राम्रो काम गरे जनताले फेरि पनि मत दिने छन् । अन्यथा यिनीहरु पनि बढारिने छ ।
४) ठूला राजनीतिक दलहरुले पार्टी संगठन निर्माणमा जनवादी व्यवस्था (चुनाबबाटै तल्लो तहको नेतृत्व ल्याउने परिपाटी र केन्द्रिय हस्तक्षेप अत्यन्तै कम) र आम जनताले भोगिरहेका तात्कालिक र दीर्घकालिक समस्या पहिचान र उपचारमा सिंगो पार्टी पंक्तिलाई केन्द्रित गरेनन् भने वैकल्पिक शक्तिहरु उदाउँछन् । जुनसुकै आवरणमा किन न होस् । देशको भूराजनीति र अर्थनीति राम्ररी न बुझेका र राजनीति र कुटनीतिमा कमजोर पात्रहरु निर्वाचित भएमा उग्र राष्ट्रवाद तथा दक्षिणपन्थी भासमा जाने खतरा सदैव रही रहन्छ ।