हेटौंडाः मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकाले वडामै स्वास्थ्य प्रयोगशाला सेवा सुरु गरेको छ । गाउँपालिकाले २ नम्बर वडामा प्रयोगशाला सेवा सुरु गरेको हो । भीमफेदी–२, भैंसेस्थित भैंसे स्वास्थ्य चौकीमा सोमबार गाउँपालिकाका अध्यक्ष हिदम लामाले प्रयोगशालाको उद्घाटन गर्नुभयो ।
प्रयोगशालाका लागि एकजना स्वास्थ्यकर्मी रहेका छन् । स्वास्थ्य चौकीमा स्थापित प्रयोगशालाबाट गाउँपालिकाको वडा नम्बर १, २, ३, ४ र ९ का सर्वसाधारण लाभान्वित हुने बताइएको छ । प्रयोगशालामा मधुमेह, युरिक एसिड, पिसाब, जाँच, गर्भ रहेको वा नरहेको जाँच, मृगौलासँग सम्बन्धित जाँच, टाईफाईड जाँच, जन्डिस जाँच, हेपाटाइटिस बी र हेपाटाइटिस सी जाँच, एचआईभि जाँच र रगत परीक्षणको सेवा प्रयोगशालाबाट लिन सकिने छ ।
जनताको सेवाका लागि पालिकाले वडामै प्रयोगशाला स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताउनुभएको छ । प्रयोगशाला उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सञ्जीव श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।