फाईल तस्वीर ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकामा चालु आर्थिक वर्ष २०७९–०८० मा घर निर्माण गर्नेको संख्या घटेको छ । गत साउनदेखि चैत महिनाको आवधिमा उपमहानगरपालिकाबाट ३ सय १६ वटा घरको नक्सा पास भएको छ ।

यस अवधिमा २ सय ८३ नक्सा पेस भएको थियो । यस्तै, नक्सा म्याद थप १७, नक्सा नामसारी ७६ वटा भएको छ । गत आर्थिक वर्ष २०७८–०७९ मा ७ सय ४९ घरको नक्सा पास भएको थियो । गत आर्थिक वर्षमा चैत महिनासम्म नै ६ सय १६ घरको नक्सा पास भएको उपमहानगरपालिकाको तथ्यांक छ ।
चालु आर्थिक वर्षमा गत वर्षको तुलनामा घर निर्माण ५० प्रतिशतले कम भएको छ । अघिल्लो आर्थिक वर्ष २०७७–०७८ मा भने घर निर्माणका लागि १ सय २५ वटा घरको नक्सा पास भएको थियो ।

पालिकाभित्र आर्थिक वर्ष २०७८–०७९ मा घर बनाउनेको संख्या उच्च रहेको देखिन्छ । उक्त वर्ष घर निर्माणमात्र नभई नक्साको नामसारी पनि उच्च संख्यामा भएको छ । एक सय ९ जना मानिसले घर बिक्री गरी घर नामसारी गरेका थिए ।

कोभिड–१९, विभिन्न महामारी, बढ्दो महङ्गी र आर्थिक संकटका कारण घर निर्माणमा कमी आएको बताइएको छ । घर निर्माणमा कमी आउँदा विभिन्न क्षेत्रमा समेत प्रभाव पार्दछ । सिमेन्ट, छड, बालुवा, गिट्टी, इटालगायत विभिन्न निर्माण सामग्री बिक्री वितरणमा कमी आएको छ । जसले गर्दा राजस्वमा गिरावट आएको छ । घर निर्माणको काम गर्ने मजदुरसमेत बेरोजगार हुनुपर्ने अवस्था सिर्जना भएको छ ।