सांकेतिक तस्बिर ।

हेटौंडाः मकवानपुरमा आमा बन्ने किशोरीको संख्या बढ्दै गएको छ । २० वर्षभन्दा कम उमेरका किशोरीले बच्चा जन्माउने क्रम बढ्दै गएको हो ।

पछिल्लो एक वर्षको अवधिमा एक हजार ७ सय ३ जना किशोरीले गर्भवती जाँच गराएको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिनुभयो । १४ हजार ७ सय ३० जनाले गर्भवती जाँच लिएको मध्ये एक हजार ७ सय ३ जना २० वर्षभन्दा कम उमेरका छन् । पहिलो पटक गर्भ जाँच गराउनेको संख्या सबैभन्दा बढी ७ हजार ३ सय ७७ जना छन्, जसमा ७ सय २६ जना किशोरी रहेका छन् ।

१२ हप्तासम्मको गर्भ जाँच गराउने ३ हजार २ सय २९ जना गर्भवतीमध्ये ३ सय ६५ जना किशोरी रहेको घिमिरेले जानकारी दिनुभयो । ४ पटक (१६, २०–२४, ३२ र ३६ हप्तामा) गर्भवती जाँच गराउनेको संख्या ४ हजार ३ सय ४७ जना रहेकोमा ४ सय ७४ जना किशोरीले जाँच लिएका छन् । प्रोटोकलअनुसार ८ औं पटक गर्भजाँच गराउने एक हजार ४ सय ८० मध्ये १ सय ३८ जना किशोरी रहेको उहाँले बताउनुभयो ।

यसैगरी, ४ हजार १ सय ९६ जनाले प्रसुती सेवा लिएकोमा ४ सय ८८ जना २० वर्षभन्दा कम उमेरका किशोरी रहेका छन् । दक्ष प्रसुतीकर्मीबाट ३ हजार ७ सय ६ जनाले प्रसुती सेवा प्राप्त गरेकामध्ये ३ सय ९५ जना किशोरी रहेका छन् । ३ सय ६ जनाले दक्ष स्वास्थ्यकर्मीबाट सेवा लिएकामा ५१ जना किशोरी रहेको बताइएको छ । ८९ जना महिलाले अन्य स्वास्थ्यकर्मीबाट सेवा लिएकामध्ये २९ जना किशोरी रहेका छन् । यस्तै, घरमा प्रसुति हुनेको संख्या ९५ जना रहेकोमा किशोरीको संख्या १३ जना रहेको घिमिरेले जानकारी दिनुभयो ।

यस अवधिमा ९ सय ८५ जना महिलाले गर्भपतन सेवा लिएका छन् । सेवा लिएका महिलामध्ये ४६ जना किशोरी रहेका छन् । १२ हप्तासम्म ४३ किशोरीले मेडिकल गर्भपतन सेवा प्रयोग गरेका हुन् । १२ हप्तामाथिका २ जना किशोरीले मेडिकल र एक जनाले सर्जिकल गरेको घिमिरेले बताउनुभयो ।

नेपालमा २० वर्षभन्दा कम उमेरमा विवाह गर्नु कानुनविपरित मानिन्छ । सरकारले २० उमेरभन्दा कम उमेरमा बिबाह नगर्न आग्रह गर्दासमेत किशोरी उमेरमै बच्चा जन्माउने क्रम बढ्नुले सकारात्मक संकेत गर्दैन । किशोरी उमेरमा बच्चा जन्माउँदा आमा र शिशुमा विभिन्न समस्या उत्पन्न हुने स्वास्थ्यकर्मीको भनाई छ ।