स्वास्थ्य शिविरमा सेवा लिदैँ ।

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकामा भएको निःशुल्क आयुर्वेद तथा बैकल्पिक स्वास्थ्य शिविरमा ५ सय ३ जनाले सेवा लिएका छन् । शनिबार भएको स्वास्थ्य शिविरमा ५ सय ३ जनाले सेवा लिएको बकैया–३ को स्वास्थ्य चौकीका प्रमुख कृष्णबहादुर लामा जिम्बाले बताउनुभयो ।

बकैया गाउँपालिका र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरको आयोजनामा स्वास्थ्य शिविर भएको हो । शिविरमा बकैयाका १२ वटै वडाबाट सेवाग्राही आएका थिए । गाउँपालिकाका ३, ४, ८ र ९ नम्बर वडाबाट बढी सेवाग्राही आएको जिम्बाले जानकारी दिनुभयो । स्वास्थ्य शिविरमा धेरैजसो मानिस हाडजोर्नी र स्त्रीरोगको समस्या लिएर आएका थिए ।

शिविरमा बकैया गाउँपालिकाका वडा नं ३ का वडा अध्यक्ष भुवनसिं घलान र वडा नं ४ का वडा अध्यक्ष राजन दंगालको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा बागमती प्रदेशको स्वास्थ्य निर्देशनालय र बकैया गाउँपालिकाको सहयोग रहेको जिम्बाले जानकारी दिनुभयो ।

शिविरका पेटसम्बन्धी ग्यास्ट्रिकको समस्या भएका सेवाग्राही धेरै आएका थिए । साथै, हाडजोर्नीसम्बन्धी घुँडा दुख्ने र ढाड दुख्ने, स्त्रीरोगहरुमा पाठेघरसम्बन्धी, मलद्वारसम्बन्धी रोगहरुमा पाइल्ससम्बन्धी, छालासम्बन्धी रोगहरुमा एलर्जीसम्बन्धी, श्वासप्रश्वाससम्बन्धी रोगहरुमा दमको बिरामी र अन्यमा पूर्वकर्म—पञ्चकर्म सेवा, ल्याब सेवा, थेरापीका सेवा लिन बिरामीहरु धेरै आएको जिम्बाले बताउनुभयो ।