हेटौंडाः मकवानपुरको भैंसे–भीमफेदी सडकखण्ड तोकिएको समयभित्र निर्माण सम्पन्न नहुने निश्चित देखिएको छ । चालु आर्थिक वर्षको असार मसान्तसम्ममा बन्ने भनिएको उक्त सडकखण्ड सम्झौता अवधिमा पुरा नहुने देखिएको हो ।
बागमती प्रदेश सरकारको भौतिक पुर्वधार विकास मन्त्रालय अन्तर्गतका यातायात पुर्वधार निर्देशनालयले उक्त सडकखण्ड निर्माणका लागि २०७७ असार २४ गते आशिष डिएसजेभी, हेटौंडासँग ठेक्का सम्झौता गरेको थियो । सम्झौतापत्रमा २०७९ असार २३ गतेसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको थियो । सम्झौता भएको समयमा काम गर्न नसकेपछि बागमती प्रदेश सरकारले उक्त ठेकेदार कम्पनीसँग २०८० असार मसान्तसम्मका लागि म्याद थप गरिएको थियो । अहिले सम्झौता भएको समय सकिन करिब दुई महिना मात्र बाँकी छ । तर काम ५५ प्रतिशत मात्र भएको छ । सुरुमा ३८ करोड ७८ लाख रुपैयाँमा सडक निर्माण गर्ने सम्झौता भएको पनि त्यसमा थपेर ४० करोड ४८ लाख ४९ हजार रुपैयाँ पु¥याएको छ ।
बामगती प्रदेश यातायात पुर्वधार निर्देशनालयका इन्जिनियर हरी प्रसाद ओझा इन्जिनियरले सडक निर्माण कार्य ढिला भएको बताउनुभयो । अहिले सडकखण्ड निर्माणाधिन प्रक्रिया रहेको पनि उहाँले बताउनुभयो । अहिले ठेकेदार कम्पनीका अनुसार ५५ प्रतिशत काम सम्पन्न भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘गत आर्थिक वर्षमा एक वर्षका लागि म्याद थप गरिएको थियो । मलाई लाग्छ अब पनि तोकिएको समयभित्र काम गर्न सक्नुहुन्न ।’ सडकछेउमा पर्ने घरटहराको मुअब्जा र क्षतिपुर्तिको कुरा नटुङ्गिदा सडक निर्माण गर्न गाह्रो भएको भनी ठेकेदारले गुनासो गरेको उहाँले बताउनुभयो । उक्त सडकखण्डमा पर्ने ३८ वटा निजी घरटहरा, २१ वटा ऐलानी जग्गाको घरटहरा हटाउनुपर्ने उहाँले बताउनुभयो ।
अहिलेसम्म २–३ जनासँग घरटहरा हटाउनेबारे सम्झौता भएको ९ जनाको सम्झौतापत्र आएको उहाँले बताउनुभयो । उहाँले उक्त सडक ११.५ किलोमिटर कालोपत्रै बन्ने बताउनुभयो । सडक नालीसहित १० मिटर निर्माण हुने उहाँले बताउनुभयो । मुअब्जा र क्षतिपुर्तिको कुरामा अहिले सकारात्मक भएको उहाँले दाबी गर्नुभयो । सडक निर्माणका क्रममा पहिला दुई वर्षसम्म अवरुद्ध भएको तर अहिले नभएको उहाँले बताउनुभयो । सम्झौता अवधिभित्र काम सम्पन्न नभए ठेकेदार कम्पनीलाई नियम अनुसार म्याद थप र कारबाही पनि हुन सक्ने उहाँले बताउनुभयो ।