आइतबार वन विज्ञानसम्बन्धी प्रदर्शनीमा आफ्नो प्रस्तुती अवलोकनकर्तालाई बताउँदै ।

हेटौंडाः अन्तर्राष्ट्रिय वन विज्ञान विद्यार्थी संगठन (इफ्सा) हेटौंडाको प्रथम सम्मेलनअन्तर्गत दोस्रो दिन आइतबार वन विज्ञान प्रदर्शनी सकिएको छ । स्नातक तहमा वन विज्ञान विषय अध्ययनरत विद्यार्थीहरुको संस्थाले आफ्नो प्रथम सम्मेलनको अवसरमा तीन दिवसीय कार्यक्रमको आयोजना गरेका छन् ।

सम्मेलनको दोस्रो दिन आइतबार विद्यार्थीले वन विज्ञानको विषयमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले वन संरक्षणसम्बन्धी प्रदर्शनीको आयोजना गरेका हुन् । ७ वटा स्टलमा विद्यार्थीले व्यक्तिगत तथा सामूहिकरुपमा प्रदर्शनी गरेका छन् । वन विज्ञान विषय अध्ययनरत विद्यार्थीले नै प्रदर्शनीको अवलोकन गरेका छन् । प्रदर्शनीसँगै दोस्रो दिन इफ्साको साधारणसभा समेत भएको छ । इफ्सामा ४५ जना नयाँ विद्यार्थी सदस्य बनेको उल्लेख गर्नुहुँदै इफ्साका अध्यक्ष अनिल सुवेदीले भन्नुभयो, “हामीले आज (आइतबार) नयाँ सदस्य साथीहरुलाई इफ्साका बारेमा जानकारी गरायौं । वर्षभरी गरिएका क्रियाकलापका विषयमा पनि जानकारी गराउनुका साथै आगामी योजनाका बारेमा पनि छलफल गरेका छौं ।”

इफ्साको तीन दिवसीय कार्यक्रम आज सोमबार नयाँ कार्यसमिति चयन गरेर सम्पन्न गर्नेछ । साथै सोमबार समापन समारोह र साँस्कृतिक साँझको पनि आयोजना गरिने बताइएको छ । हेटौंडास्थित त्रिभुवन विश्वविद्यालयअन्तर्गतको वन विज्ञान अध्ययन संस्थान र कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गत वन विज्ञान संकायमा स्नातक तहमा अध्ययनरत विद्यार्थीले विश्वविद्यालय तहमा अध्ययनरत वन विज्ञान विषयका विद्यार्थीको अन्तर्राष्ट्रिय संस्थाको रुपमा इफ्साको हेटौंडा शाखा स्थापना गरेका हुन् ।