आज बैशाख ११ गते लोकतन्त्र दिवस हो । तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनविरुद्ध भएको दोस्रो जनआन्दोलनले सफलता पाएको दिनको स्मरणमा बैशाख ११ गतेलाई लोकतन्त्र दिवसको रुपमा मनाउने गरिन्छ । २०६२ चैत २४ गतेदेखि सुरु भएको दोस्रो जनआन्दोलन २०६३ बैशाख ११ गते विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्ने राजा ज्ञानेन्द्रको घोषणासँगै अन्त्य भएको थियो । २०५६ सालमा भएको आम निर्वाचनबाट गठन भएको प्रतिनिधिसभा तत्कालीन माओवादी जनयुद्ध तथा राजनीतिक दलहरुको सत्ता राजनीतिले २०५९ जेठ ८ गते विघटन भयो । प्रतिनिधिसभा विघटनलगत्तै जेठ १९ गते राजदरबार हत्याकाण्ड भयो । दरबार हत्याकाण्डपछि तत्कालीन राजा वीरेन्द्रको सम्पूर्ण वंश नाश भएपछि ज्ञानेन्द्र राजा भए । राजा ज्ञानेन्द्रको राजनीतिक सक्रियता बढ्दै गएपछि स्वेच्छाचारीरुपमा सरकार गठन र विघटनको शृंखला चल्यो । हुँदाहुँदा २०६१ माघ १९ गते ज्ञानेन्द्रले प्रत्यक्ष शासन सुरु गरेपछि तत्कालीन राजनीतिक दलहरु भूमिकाविहीन बन्न पुगे ।
राजनीतिक दलहरुलाई बेवास्ता गरेर आफू निकटका व्यक्तिको सहयोगमा आफ्नै अध्यक्षतामा राजा ज्ञानेन्द्रले मन्त्रिपरिषद् गठन गरेर प्रत्यक्ष शासन सुरु गरेपछि राजनीतिक दलहरु राजतन्त्रविरुद्ध संघर्ष गर्न तयार भए । तत्कालीन माओवादीले पनि राजनीतिक दलहरुको आन्दोलनलाई सहयोग गर्ने गरी दिल्ली सम्झौता भयो । यसैको बलमा दोस्रो जनआन्दोलन सुरु भयो । तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनविरुद्ध चलेको जनआन्दोलन उत्कर्षमा पुगेपछि २०६३ साल बैशाख ११ गते ज्ञानेन्द्रले ‘जनताको नासो जनतालाई फिर्ता दिएको’ उद्घोषसहित प्रतिनिधिसभा पुनःस्थापना गरेको खुशीयालीमा यो त्यसयता हरेक वर्ष बैशाख ११ गते लोकतन्त्र दिवस मनाइने गरिएको थियो । तर, २०७२ सालमा नयाँ संविधान जारी भएपछि यो दिवस ओझेलमा परेको छ । त्यस अघिसम्म राज्यले सार्वजनिक विदा दिएर विविध कार्यक्रमसहित लोकतन्त्र दिवस मनाउने गरेको थियो । त्यसपछि लोकतन्त्र दिवसको विदा कटौतीसँगै लोकतन्त्र दिवस ओझेलमा परेको मात्र नभई गुमनामजस्तै बन्न पुगेको छ ।
मुलुकमा भएका विभिन्न आन्दोलन र सम्झौताहरुबाट प्राप्त उपलब्धिको रुपमा स्थापित भएको लोकतन्त्रलाई सार्थ बनाउन लोकतन्त्र दिवस मनाउनु आवश्यक छ । सार्वजनिक विदा नदिए पनि राज्यस्तरबाटै विविध कार्यक्रम गरेर यो दिवस मनाउनु पर्नेमा राज्यको बेवास्ता बढ्दै जानु उचित देखिँदैन । देशमा व्याप्त माओवादी सशस्त्र जनयुद्ध र तत्कालीन राजनीतिक नेतृत्वको कमजोरीबाट अस्थिरता बढ्दै गएको कारण तत्कालीन राजा ज्ञानेन्द्रले देशको शासन व्यवस्था आफैंले जिम्मा लिएका थिए । बहुदलीय प्रजातान्त्रिक व्यवस्थामा राजनीतिक दलहरुलाई पाखा लगाएर राजा आफैंले शासन सञ्चालन गरेपछि राजनीतिक दल र त्यसको नेतृत्व रुष्ट बन्नु स्वभाविक हो । राजा ज्ञानेन्द्रको महत्वाकांक्षाका कारण २ सय ४० वर्षसम्म शासनसत्तामा रहेको शाहवंशीय राजतन्त्र नै समाप्त बन्न पुग्यो । मुलुकले गणतन्त्रको अनुभूति गर्ने अवसर सृजना भयो । यसका लागि पनि लोकतन्त्र दिवसको स्मरण आवश्यक देखिन्छ ।
१९ दिनसम्म चलेको दोस्रो जनआन्दोलनले राजाको प्रत्यक्ष शासन अन्त्य गरेसँगै देशमा लोकतन्त्र प्राप्त भयो । त्यतिमात्र नभई सोही जनआन्दोलनबाट पुनःस्थापित प्रतिनिधिसभाले राजाको अधिकार कटौती गर्दै गणतन्त्र ल्याउन सफल भयो । दश वर्षसम्म सशस्त्र संघर्षरत माओवादीलाई पनि शान्तिपूर्ण राजनीतिमा ल्याउने आधारका रुपमा उक्त आन्दोलन सफल बन्यो । सोही जनआन्दोलनकै उपलब्धिको रुपमा संविधानसभा निर्वाचन भयो र संविधानसभाले संघीयतासहितको नयाँ संविधान जारी गर्यो । अहिले हामीले यी सबै उपलब्धिलाई संस्थागत गर्ने प्रयत्नमा रहेको अवस्थामा लोकतन्त्र दिवसलाई ओझेलमा पार्नु न्यायोचित हुँदैन । देशलाई राजतन्त्रबाट संघीय गणतन्त्रमा पुर्याई समृद्धिको मार्गमा उन्मुख गराउन महत्वपूर्ण मानिएको लोकतन्त्र दिवसलाई सबै नेपालीले आ–आफ्नो तर्फबाट स्मरण गर्नु आवश्यक छ ।