हेटौंडाः तत्कालीन राजा ज्ञानेन्द्रले जनतासामू घुँडा टेकेको दिनको सम्झनामा आज लोकतन्त्र दिवस मनाइँदैछ । विक्रम संवत् २०६२/६३ को दोस्रो जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते नेपालमा लोकतन्त्र स्थापना भएको थियो ।

राजा ज्ञानेन्द्रले २०५९ जेठ ८ गते विघटित संसद २०६३ वैशाख ११ गते पुनःस्थापना गर्नुभएको थियो । नारायणहिटी दरबार हत्याकाण्डपछि राजा बन्नुभएका ज्ञानेन्द्र शाहले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने श्रृङ्खला चलाउनुभएको थियो । राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गर्नुभएको थियो ।


सात दल र सशस्त्र युद्धरत नेकपा माओवादीबीच भएको १२ बुँदे समझदारीअनुसार ज्ञानेन्द्रको प्रत्यक्ष शासनविरुद्ध आन्दोलन चर्कियो । राजधानी काठमाडौंमा मानवसागर उर्लिएको थियो । आन्दोलनमा दुई दर्जन बढीको ज्यान गएको थियो । अन्ततः राजा ज्ञानेन्द्र घुँडा टेक्न बाध्य भई जनताको नासो जनतालाई नै फिर्ता गरेको घोषणा गर्नुभएको थियो ।

आन्दोलनरत दलले तयार पारेकै मस्यौदाका आधारमा ज्ञानेन्द्रले २०६३ वैशाख ११ गते राति संसद पुनःस्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गर्नुभएको थियो । त्यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ । २०६३ जेठ ४ गते बसेको पुनःस्थापित संसद बैठकले राजदरबारको अधिकार कटौती गर्यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने संकल्प प्रस्ताव पारित गर्यो । २०६३ मंसिर ११ मा माओवादी हतियार बिसाउँदै शान्तिपूर्ण राजनीतिमा आयो ।

यसैको जगमा २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्ष लामो राजसंस्थाको विधिवत् अन्त्य गर्दै मुलुकमा गणतन्त्र स्थापना भएको ऐतिहासिक घोषणा गर्यो । लोकतन्त्र स्थापना भएको दिन वैशाख ११ मा सार्वजनिक विदा दिने गरिएकोमा केही वर्षदेखि उक्त कटौती गरिएको छ । कतिपयले यसको आलोचनासमेत गर्ने गरेका छन् ।

सरकारले भने लोकतन्त्र, गणतन्त्रलाई संविधानले संस्थागत गरेकाले संविधान जारी भएको दिन २०७२ साल असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाउने र सो दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । लोकतन्त्र दिवसमा सरकारको तर्फबाट औपचारिक कुनै कार्यक्रम नगरिए पनि विभिन्न संस्थाहरुले आफूअनुकूल कार्यक्रम आयोजना गरेका छन् ।