हेटौंडाः हेटौंडा उपमहानगरपालिका १, ३ र १९ नम्बर वडाका जनप्रतिनिधि र विद्यालयका प्रधानाध्यापकहरुलाई स्थानीय पाठ्यक्रम निर्माण तथा कार्यान्वयनसम्बन्धी अभिमुखीकरण गरिएको हो ।
मंगलबार हेटौंडा—३, बसामाडीमा रहेको महेन्द्रकिरण माध्यमिक विद्यालयमा अभिमुखीकरण कार्यक्रम भएको छ । हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाको आयोजनामा भएको अभिमुखीकरणमा प्रधानाध्यापक तथा जनप्रतिनिधिबीच छलफलसमेत भएको छ ।
हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाकी शिक्षा अधिकृत सुनिता महर्जनले सहजीकरण गर्नुहँदै कक्षा ४–८ को स्थानीय पाठ्यक्रम निर्माणबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम भएको बताउनुभयो । कक्षा ४–८ को स्थानीय पाठ्यक्रम निर्माणका लागि विषयवस्तु संकलन र कक्षा १–३ को स्थानीय पाठ्यक्रम कार्यान्वयनको अवस्था अध्ययन, पृष्ठपोषण संकलन गर्ने उद्देश्यले कार्यक्रम भएको उहाँको भनाई छ ।
स्थानमा आधारित शिक्षा, जीवन, काम, अनुभवसँग अन्तरसम्बन्धित, सान्दर्भिकृृत स्थानीय पाठ्यक्रमको विशेषता रहेको बताउनुभयो । यसैगरी स्थानीय क्षमता विकास, स्थानीय ज्ञान सीप प्रविधि प्रवद्र्वन र राष्ट्रिय पाठ्यक्रमको पूरक पाठ्यक्रम स्थानीय पाठ्यक्रमको विशेषता रहेको जानकारी दिनुभयो । परिचय, सक्षमता र तहगत उद्देश्य, कक्षागत सिकाइ उपलब्धी, सीप वा विषयवस्तुको क्षेत्र र क्रम, विषयवस्तुको विस्तृतिकरण, सिकाइ सहजीकरण विधि र प्रक्रिया र विद्यार्थी मूल्यांकन प्रक्रियाका आधारमा स्थानीय पाठ्यक्रमको ढाँचा निर्माण हुने बताउनुभयो ।