बागमती–५, ज्यामिरेस्थित खानेपानी मुहान सुरक्षाका लागि तटबन्ध बनाउन श्रमदान गर्दै ।

हेटौंडाः धरानका नगर प्रमुख हर्क साम्पाङको शैली अर्थात् धराने शैलीमा पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा श्रमदान अभियान सुरु भएको छ । बुधबारबाट ‘आफ्नो गाउँ आफैं बनाऔं’ भन्ने उद्देश्यले गाउँपालिकाका अध्यक्ष सर्केश घलानको नेतृत्वमा अभियान सुरु भएको हो ।

बुधबार बागमती–५, ज्यामिरेस्थित खानेपानी मुहान सुरक्षाका लागि तटबन्ध बनाइएको छ । बुधबार ४ थान तटबन्ध लगाइएको छ । अब केही थान मात्र बाँकी रहेको जनाएको छ । गाउँपालिका अध्यक्ष घलानले अभियानलाई निरन्तरता दिने बताउनुभएको छ । पालिकाभित्रका बाटोघाटो सरसफाइ लगायत अन्य काममा बिहान ६ बजेदेखि बिहान ९ बजेसम्म श्रमदान गर्नुपर्ने उहाँले बताउनुभयो । घलानले दोस्रो पटक पालिका प्रमुखको जिम्मेवारी सम्हाल्नुभएपछि पहिलो पटक श्रमदान अभियान सुरु गर्न थाल्नुभएको हो ।

बागमती–५, ज्यामिरेस्थित खानेपानी मुहान सुरक्षाका लागि तटबन्ध बनाउन श्रमदान गर्दै ।

नेपालमा पछिल्लो समय श्रमदान अभियानको चर्चा बढिरहेको छ । धरान उपमहानगरपालिकामा स्वतन्त्रबाट मेयर बन्नुभएका हर्क साम्पाङले श्रमदान अभियान चलाएर काम गरिरहनुभएको छ । मेयर साम्पाङले चलाइरहनुभएका श्रम अभियानलाई सबैले प्रसंशासमेत गरेका छन् । श्रमदान अभियानमा ५ नम्बर वडाका अध्यक्ष विजय भोलन, ४ नम्बर वडाध्यक्ष दन्तलाल माझी लगायत पूर्व वडाध्यक्षहरु, राजनीतिक दलका नेता, कार्यकर्ता, प्रहरी, शिक्षक र स्थानीयको सहभागिता रहेको छ ।