हेटौंडाः बालमैत्री नगर घोषणा अभियान अन्तर्गत हेटौंडा उपमहानगरपालिका–८ मा वडास्तरीय बाल सञ्जाल गठन गरिएको छ । आगामी मंसिरसम्ममा उपमहानगरलाई बालमैत्री शासनयुक्त पालिका घोषणाको तयारी अनुसार हेटौंडा–८ मा प्रकृति भण्डारीको अध्यक्षतामा २५ सदस्यीय वडा स्तरीय बाल सञ्जाल गठन भएको हो ।
१९ वटा टोल विकास संस्थाहरु रहेको वडामा १७ वटा टोलस्तरीय बाल सञ्जालमा रहेका र वडामा रहेको ४ वटा विद्यालयमा अध्ययनरत बालबालिकालाई समेटेर वडास्तरीय सञ्जाल गठन गरीएको वडा सहजकर्ता रोजिता दंगालले जानकारी दिनुभएको छ । सञ्जाल गठन कार्यक्रममा शैक्षिक सामग्रीसहितको बाकसलाई बाल सञ्जाललाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाको महिला तथा बालबालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछानेले बाल सञ्जाल गठन र यसको महत्वका बारेमा सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष रामकृष्ण थापाले बालमैत्री अभियानमा बाल सञ्जाल समुहको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले आउँदो असोज १५ गतेसम्म वडालाई बालमैत्री घोषणा गर्ने अभियानमा सहजीकरण गर्दै अघि बढ्ने बताउनुभयो । उपमहानगरलाई बालमैत्री पालिकाको रुपमा विकास गर्न वडाहरुको भूमिका महत्वपूर्ण रहने भन्नुहुँदै वडा अध्यक्ष थापाले अभियानलाई सफल बनाउने काममा समन्वय गर्न तयार रहेको स्पष्ट पार्नुभयो ।
वडा अध्यक्ष थापाको अध्यक्षतामा चन्द्रोदय माध्यमिक विद्यालयमा भएको कार्यक्रममा वडा सदस्य गोरखनाथ राय, टोल विकास संस्था वडा समन्वय समितिका संयोजक बिष्णु अर्याल, सामुदायिक सेवा केन्द्र हेटौंडाका राम बिष्ट, राजनीतिक दलका वडा तहका नेताको सहभागिता रहेको थियो ।