बाघको आक्रमणबाट घाइते भएका कृष्णबहादुर थिङको हेटौंडा अस्पतलामा उपचार हुँदै । तस्वीरः बसन्त भण्डारी/समृद्ध समाज ।

हेटौंडाः हेटौंडा–१५ स्थित चुरियामाई सामुदायिक वनमा बाघको आक्रमणबाट दुई जना घाइते भएका छन् । बुधबार बिहान ८ बजेर १५ मिनेटको समयमा वनमा बाख्रा चराउन गएका ६५ वर्षीय कृष्ण बहादुर थिङ र १७ वर्षीय सुमन घलान बाघको आक्रमणबाट घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।

बाघको आक्रमणबाट घाइते थिङको घाँटीमा गहिरो चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । थिङको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । अर्का घाइते घलानको दाहिने कुम, ढाडको बाँया भाग र छातीमा बाघले टोकेको र अवस्था मध्यम रहेको जनाएको छ । घलानको पनि हेटौंडा अस्पतालमै उपचार भइरहेको छ ।

बुधबार बिहान उनीहरुलाई बाघले आक्रमण गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रातोमाटेबाट प्रहरी सहायक निरीक्षक सुबोध ठाकुर मैथली र ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा प्रहरी टोली खटिएको थियो । उक्त बाघ जङ्गलतर्फ गएको बुझिएको प्रवक्ता कार्कीले बताउनुभयो । जिल्ला वन कार्यालयको कर्मचारीसँग समन्वय गरी घटनाबारे थप अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो । हेटौंडामा यसअघि पनि बाघको आक्रमण भएको थियो । एक महिनाअघि हेटौंडा–१८, हर्नामाडीमा एक महिलालाई बाघले आक्रमण गरी घाइते बनाएको थियो ।